कुमरखोद , असोज ६ । झापा गाउँपालिकाको सानो माईखोलामा डुवेर एक बालिकाको मृत्यु भएको छ ।

झापा गाउँपालिका वडा नं ३ झाँटी गौरीगाउँ वस्ने मानबहादुर दर्जीकी ४ वर्षीया छोरी विष्णुमाया दर्जीको सानो माईखोलामा डु्वेर मृत्यु भएको हो । ती बालिका हिजो दिउँसो २ बजेदेखि घरबाट हराएकी थिइन् ।
स्थानीयले खोजतलास गर्ने क्रममा आज विहान ७ वजे घरनजिकै रहेको सानोमाई खोलामा मृत अवस्थामा फेला पारेका थिए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयको टोली पुगेर आवश्यक कानुनी प्रक्रिया पुरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।



