झापा,असोज ७ । सोमबारदेखि दसैँ सुरु भएको छ । यससँगै काठमाडौँ उपत्यकाबाट बाहिरी जिल्लामा र अन्य मुख्य सहरबाट गाउँमा जानेहरूको चहलपहल पनि बढ्न थालेको छ ।

उपत्यकाबाट बाहिरिनेहरूको संख्या हरेक वर्ष करिब उस्तै हुन्छ, त्यस्तै हुन्छ यात्राको कष्ट पनि । देशभरका धेरै सडकको अवस्था बेहाल छ । दसैँकै मुखमा हवाई भाडा पनि सामान्य अवस्थाको भन्दा ‘डबल’ हुन्छ । यसरी यात्रुहरू दोहोरो मारमा पर्नु हरेक दसैँको नियति नै हो ।
अरनिको राजमार्ग र मुग्लिङ–नारायणगढ सडकखण्डमा हालै पहिरोले अवरोध ग¥यो ।पृथ्वी राजमार्ग, बीपी राजमार्ग, अरनिको राजमार्ग, मुग्लिङ–नारायणगढ सडकखण्ड लगायतका मुख्य लाइफलाइनहरू सामान्य वर्षा हुनेबित्तिकै अवरुद्ध हुने गरेका छन् । पहिरो, सडक भासिने र बाढीको समस्याले सडक यातायातको भरपर्दो विकल्प बन्न सकेको छैन ।
दसैँमा काठमाडौँ उपत्यका छाड्नेहरूको संख्या उच्च हुने र त्यही बेला सडकमार्गको ठेगान नहुने जोखिमले हवाई भाडादर अहिले आकासिएको छ । अन्य समयको भन्दा झण्डै दोब्बरसम्म भाडा बढेको छ ।
यसरी अत्यावश्यक सडक लामो समय अवरुद्ध हुँदा हजारौँ यात्रुको समय र पैसाको बर्बादी भएको छ।
यातायात व्यवस्था विभागले समेत एक सूचना सार्वजनिक गर्दै मनसुन सक्रिय रहेकाले र वर्षाका कारण सडक अवरुद्ध भइरहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ । नेपालीहरूको महान् चाड दसैँ, तिहार र छठ नजिकिँदै गर्दा अधिकांश यात्रुहरूले आ–आफ्नो थातथलो जान इच्छुक रहेको अवस्थामा यस्तो सल्लाह आउनुले सडकको अविश्वसनीयतालाई थप पुष्टि गरेको छ । विभागले यात्रा गर्नुपूर्व आवश्यक सतर्कता अपनाउन यात्रुहरूलाई आग्रह गरेको छ ।



