झापा, असोज ६ । आन्दोलनकारीहरुबाट फिर्ता पाएको ७५ थान हतियार सेनाले झापा प्रहरीलाई बुझाएको छ ।

दमक क्षेत्रबाट ३५ र बिर्तामोड क्षेत्रबाट ४० थान हतियार आन्दोलनकारीबाट फिर्ता भएको हो । दमक र झिलझिले क्षेत्रबाट ७.६२ मिमि एसएलआर ४ थान , ५.५६ मिमि इन्सास राइफल १० थान , ३०३ राइफल १२ थान , सट गन ३ थान, ग्यास गन २ थान , ९ मिमि पेस्तोल १ थान र चाइनिज पेस्तोल ३ थान गरी जम्मा ३५ थान हतियार २१ नं बाहिनी तोपगाछीले आन्दोलनकारीबाट बुझेर प्रहरीलाई फिर्ता दिएको थियो ।
त्यस्तै बिर्तामोड , दुर्गापुर र शनिश्चरे एरियाबाट ७.६२ मिमि एसएलआर ७ थान , ५.५६ मिमि इन्सास राइफल १६ थान , ३०३ राइफल ६ थान , सट गन २ थान , ग्यास गन ४ थान , ९ मिमि एसएमजी ३ थान र रिभल्वर पेस्तोल २ थान गरी जम्मा ४० थान हतियार अरिदमन गण चारआलीले बुझेर प्रहरीलाई फिर्ता दिएको थियो ।
त्यति हतियार फिर्ता गरेपनि झापामा प्रहरीबाट लुटिएका २४ थान हतियार , ५६९० वटा गोली र १८० सेल अश्रुग्यास गायव भएको छ ।
आन्दोलनकारीहरुले इलाका प्रहरी कार्यालय बिर्तामोड र इलाका प्रहरी कार्यालय दमकबाट लुटेका विभिन्न हतियार फिर्ता गरेपनि त्यति हतियार फिर्ता नगरेको प्रहरी स्रोतले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका लामो हतियार(एसएलआर) –१४ थान र त्यसको गोली ४ हजारभन्दा बढी , सानो हतियार( पेस्तोल–रिभल्वर)– २ थान र त्यसमा लोड गरिएको ४० राउण्ड गोली , सटगन÷ग्यासगन– ४ थान र त्यसको १८० सेल ग्यास फिर्ता गरिएको छैन ।
त्यस्तै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएका लामो नाल(एसएलआर)– १ थान र त्यसको १५०० भन्दा बढी गोली , सानो हतियार( पेस्तोल–रिभल्वर)–३ थान र त्यसमा प्रयोग हुने १५० भन्दा बढी राउण्ड गोली फिर्ता नगरी गायव बनाइएको प्रहरी स्रोतले जनाएको छ ।




