विर्तामोड, असोज ८ । जेनजी आन्दोलनका नाममा भदौ २४ गते नेपाली कांग्रेस झापाको पार्टी कार्यालयमा भएको तोडफोड र आगजनीबाट १० लाख बढीको क्षति भएको छ ।

जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले जिल्ला पार्टी कार्यालयका भौतिक संरचना तोडफोड गर्नुका साथै आगजनी गरेका थिए । आगजनीबाट जिल्ला पार्टी कार्यालयमा १० लाख बढीको क्षति पुगेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।
आगलागीले क्षति पुगेको पार्टी कार्यालयको आज कांग्रेसका नेता कार्यकर्ताहरुले निरीक्षण गरेका छन् । कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री विश्वप्रकाश शर्मालगायतको टोलीले निरीक्षण गरेको हो । पूर्व महामन्त्री सिटौलाले विध्वंशात्मक घटनाका योजनाकार र संलग्नहरु समयक्रमसँगै खुल्दै जाने बताए । त्यस्तै महामन्त्री शर्माले जेनजीको भावना बमोजिम राजनीतिक दलहरुले आफूलाई परिमार्जन गर्दै जनताका बीचमा जानुपर्ने धारणा राखे ।

सो क्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष प्रेम गिरी र पूर्व सांसद हरिचरण शिवाकोटीले दलहरुको भावी कार्यक्रमका बारेमा कांग्रेस नेताहरुसँग जिज्ञासा राखेका थिए ।
आगलागी भएका कांग्रेस र एमालेको पार्टी कार्यालयमा पुगेको क्षतिको अवलोकनका क्रममा नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापा, झापा सभापति देउकुमार थेवे, प्रदेशसभा सांसद गोपाल तामाङ, नेपाली कांग्रेस कोशी प्रदेश सदस्य मिरा खड्का नेपाली कांग्रेस झापा उपसभापति केशवराज पाण्डे, सचिव कृष्ण हुमागाईंलगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।



