झापा, असोज ८ । जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरुले आगजनी गर्दा नेकपा माओवादी केन्द्र झापाको पार्टी कार्यालयमा करिव पाँच लाख बराबरको क्षति भएको छ ।

बिर्तामोड ३ स्थित गौरीशंकर खड्का स्मृति प्रतिष्ठानमा रहेको माओवादी पार्टी कार्यालयको सरसामान र कागजात आन्दोलनकारीहरुले बाहिर निकालेर आगो लगाएका थिए । आगजनीबाट ३ सेट सोफासेट , २ थान कम्प्युटर , एक थान फोटोकपी मेशिन, एक थान प्रिन्टर , ५३० वटा प्लास्टिकका कुर्सी , ६ थान दराज , टेबुल कुर्सीलगायतका सामान जलेर नष्ट भएको नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य अग्नीले बताए । उनले पार्टी कार्यालयमा रहेका महत्वपूर्ण कागजात पनि जलाएको जानकारी दिए ।

आन्दोलनकारीहरुले सोही भवनको भुइँतलामा रहेको यातायात व्यवस्था कार्यालयको डेक्स बेन्च पनि जलाएका छन् । उनीहरुले नजिकै रहेको यातायात व्यवस्था कार्यालयको भवनमा समेत तोडफोड र आगजनी गरी ठूलो क्षति पुर्याएका छन् ।




