झापा,असोज ९ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभरका पालिकासँग समझदारी (एमओयु) गरी केही पालिकाबाट कम्पनीका खाद्यवस्तु पालिकामार्फत बिक्री गर्न थालेको छ ।

कम्पनीले देशभरका उपभोक्ता पालिकामार्फत सहुलियत दरमा खाद्यवस्तु उपलब्ध गराउने उद्देश्यले हालसम्म १०१ पालिकासँग एमओयु गरी तीन वटा पालिकामार्फत सामान बेच्न पनि थालेको छ ।
खाद्य कम्पनीका प्रवक्ता माधव मिश्रले कम्पनीले गत वर्षदेखि नै काठमाडौँको दक्षिणकाली नगरपालिका, भक्तपुरको सूर्यविनायक नगरपालिका, ललितपुरको गोदावरी नगरपालिकाबाट खाद्यान्न बिक्री गर्न थालेको जानकारी दिए । खाद्य कम्पनीसँग खाद्यका सामान बिक्रीका लागि एमओयु गर्नेमा सातै प्रदेश समावेश भए पनि अधिकांश कर्णाली र सुदूरपश्चिम प्रदेशका पालिका छन् । कम्पनीले एमओयु भएका पालिकामा अर्को वर्षसम्म बिक्री कक्ष राखेर बिक्री सुरु गर्ने तयारी थालिसकेको जनाएको छ । अधिकांश पालिकाले कम्पनीसँगको एमओयु अनुसार भौतिक संरचना निर्माण गर्न सुरु गरिसकेको कम्पनीले जनाएको छ ।
खाद्य कम्पनीका अनुसार खाद्य कम्पनी र ती पालिकासँग भएको एमओयुमा खाद्य बिक्री कक्ष र गोदाम घरको भौतिक संरचना सम्बन्धित पालिकाले निर्माण गर्ने र बिक्री कक्षको आन्तरिक संरचना, कर्मचारी र खाद्यवस्तु कम्पनीले गर्ने व्यवस्था छ । कम्पनीले जुन जुन पालिकासँग एमओयु भएर बिक्री कक्ष स्थापना गरेका छन् ती पालिकाका स्थानीयले आफ्नो घरपरिवारलाई बढी भएको खाद्यवस्तु सोही बिक्री कक्षमा बिक्री गर्न सकिने पनि समझदारी छ ।
यी खाद्यको मूल्य र गुणस्तरका विषयमा कम्पनी र सम्बन्धित पालिकाको साझेदारीमा निर्धारण गरिने सो कम्पनीका प्रवक्ता मिश्रले जानकारी दिए । उनका अनुसार पालिकामातहतमा रहने खाद्य कम्पनीका खाद्यवस्तु बिक्री गर्ने व्यवस्थाले सम्बन्धित पालिकामा मूल्य नियन्त्रण र गुणस्तर कायम गर्न सहयोग त पुग्छ नै त्योबाहेक स्थानीय उत्पादनको बजारीकरणमा पनि धेरै सहयोग हुन्छ ।



