झापा, असोज ९ । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र र सरकारका दुःख एकअर्काको सहकार्यबाट हल गर्नुपर्ने बताएका छन् ।

विराटनगर भन्सार कार्यालयमा अनलाइन भ्यालुएसन सफ्टवेयरको शुभारम्भ गर्दै अर्थमन्त्री खनालले सरकार सबै हिसाबका आर्थिक गतिविधि चलायमान बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका हुन् ।
उनले पाइलट प्रोजेक्टका रूपमा अनलाइन भ्यालुएसन विराटनगर भन्सार कार्यालयबाट सुरु गरिएको बताउँदै यसले व्यावसायिक विश्वसनीयता हासिल हुने बताए । उनले भन्सार जाँचपासमा हुन सक्ने सम्भावित त्रुटि अनलाइन भ्यालुएसन प्रणालीले हटाउने बताउँदै यसले व्यावसायिक वातावरणलाई सहजीकरण गर्न सहयोग गर्ने पनि धारणा राखे ।
“भन्सार जाँचपासमा अहिलेसम्म भए गरेका फरक वस्तुको आयातमा अन्य वस्तुसमेत मिसाएर ल्याउने कार्य यसले रोक्छ,” अर्थमन्त्री खनालले भने, “चिनी आयत गरेर चामल देखाउने, फर्निचर ल्याउँदा अन्य सामान समेट्ने र चुनढुङ्गा ल्याउँदा त्यस्तै गर्ने काम बन्द हुनु पर्छ ।”
उनले विराटनगरबाट सुरु भएको अनलाइन भ्यालुएसन प्रणालीको प्रयोगलाई देशभर विस्तार गर्दै लैजाने बताए । उनले बारम्बार एउटै व्यवसायीले उस्तै त्रुटि गरेमा सिस्टममा देखिने भएकाले गलत नगर्न पनि आग्रह गरे ।

उनले अब नेपालमा पनि व्यवसायीलाई विश्वासको प्रमाणपत्र प्रदान गरिने जानकारी दिए । दसैँअगाडि सम्भव नभए पनि दसैँपछाडि राम्रो कारोबार गर्ने व्यवसायीलाई ‘ट्रस्ट सर्टिफाइड’ उपलब्ध गराइने उनले बताए । त्यसका लागि कतिपय दायरा व्यवसायीले पूरा गर्नुपर्ने उनको जोड थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्