झापा, असोज ११ । जेनजी आन्दोलनका क्रममा शहीद र घाइते भएकाहरुलाई कोरियामा रहेका नेपालीहरुले सहयोग गर्न थालेका छन् ।

एमआरआर कोरिया टिम नामक संस्थामार्फत उनीहरुले सहयोग गरिरहेका छन् । पहिलो चरणमा झापाका १० जनालाई सहयोग गरिएको हो ।
भदौ २३ र २४ गतेको आन्दोलनमा शहादत प्राप्त गरेका र घाइते भएकामध्ये झापा जिल्लामा पहिलो चरणमा एक जना शहीद परिवार र ९ जना घाइतेहरूलाई सहयोग प्रदान गरिएको हो । भदौ २४ को घटनापछि शहीद परिवार र घाइतेहरूको उपचार तथा सहायताका लागि एमआरआर टिम कोरियाद्वारा सुजन उप्रेतीको संयोजनमा अभियान सञ्चालन गरिएको छ । कोरियामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले संकलन गरेको रकम नेपालका विभिन्न जिल्लामा रहेका एमआरआर सदस्य तथा सामाजिक अभियन्तामार्फत शहीद र घाइतेहरूको आर्थिक अवस्था अध्ययन गरी सहयोग गर्ने कार्य थालिएको सहयोग अभियानका संयोजक शरद जोशीले बताए । उनका अनुसार यो अभियान झापा, काठमाडौं, पोखरा, चितवन लगायतका प्रभावित स्थानमा सञ्चालन भइरहेको छ ।
झापामा एकजनाको शहीद परिवारलाई ५० हजार , ८ जना घाइतेलाई जनही ३० हजार र एक जना घाइतेलाई २० हजार गरी हालसम्म ३ लाख २० हजार रुपैयाँ सहयोग गरिएको जोशीले जानकारी दिए । शहीद दिनेश राजवंशीको परिवारलाई ५० हजार रुपैयाँ सहयोग गरिएको थियो भने घाइते भएका कन्काईका सुशन रणपहेँली , कन्काईकै रिजन दाहाल , इलाम सूर्योदयका राजेश पोर्तेल , दमकका सुरेश खड्का , झापा गाउँपालिकाका मस्ताकिन मियाँ , हल्दिवारीका अनिश श्रेष्ठ, बिर्तामोड ५ का सुनिल तामाङ, अर्जुनधारा कप्तानवारीका विवेक दनुवारलाई जनही ३० हजारका दरले सहयोग प्रदान गरिएको थियो ।
त्यस्तै बिर्तामोडका सुमित शाहलाई २० हजार रुपैयाँ सहयोग गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । आगामी दशैंलगत्तै अन्य घाइतेहरूको अवस्था तथा आर्थिक पृष्ठभूमि अध्ययन गरी दोस्रो चरणमा सहयोग वितरण गरिने एमआरआर कोरिया टिमका सदस्य कमल ५ का विपिन आचार्यले बताए । साथै गम्भीर प्रकृतिका घाइतेहरूलाई थप सहयोग प्रदान गरिने उनले जानकारी दिए ।
जेनजी आन्दोलनका क्रममा झापामा प्रहरीसंगको झडपमा परी तीनजनाको मृत्यु भएको थियो भने सयभन्दा बढी घाइते भएका थिए । सबैजना घाइतेहरु उपचारपछि डिस्चार्ज भइसकेका छन् । घाइतेहरुलाई बिर्तामोडको बीएण्डसी , बिर्तासिटी , मनमोहन , दमक अस्पताल दमक , नोवेल विराटनगर , वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।
कोरियाबाट प्राप्त सहयोग वितरणका लागि एमआरआर कोरिया टिमका सदस्यहरु बिर्तामोड ५ का शरद जोशी , कमल ५ का विपिन आचार्य र दमक ४ का दिवाकर गुरुङले सहजीकरण गर्दै आएका छन् ।



