झापा, असोज ११ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन अनुसार सामान्य ढंगले साधारण सभा गर्दा बिर्तामोड ४ स्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको ५ लाख रुपैयाँ जोगिएको छ ।

१५ औ वार्षिक साधारण सभाअन्तर्गत असोज ३ गतेदेखि शुरु भएको इकाइगत साधारणसभा असोज ९ गते सम्पन्न भएको थियो भने आज अन्तिम माइन्यूट प्रमाणीकरण सभा गरिएको थियो । प्राधिकरणले संस्थाको साधारण सभाले निर्धारण गरेको बजेटको सीमाभित्र रही खर्च गर्ने, तडकभडकपूर्ण र देखावटीपूर्ण खर्च नगर्ने, साथै सदस्यको क्षमता विकास गर्न सदस्य केन्द्रीत सदस्य शिक्षा, वित्तीय साक्षरता, विस्तारित मञ्चका कार्यक्रमहरु बजेट, कार्यक्रम र कार्ययोजना तयार गरी सञ्चालन गर्न, गराउन निर्देशन दिएको हो । कार्यक्रममा मञ्च सजावट, माला, खादा, अतिथि उपहार, अतिथि यातायात तथा आवास खर्च, साधारण सभामा सहभागिता भत्ता वा यातायात खर्च, भोजभतेर जस्ता फजुल खर्च नगर्नुपर्ने स्पष्ट निर्देशनसमेत जारी गरिएको छ ।
प्राधिकरणको निर्देशन बमोजिम नै साधारण सभा गर्दा खर्च घटेर ५ लाख रुपैयाँ जोगिएको संस्थाका अध्यक्ष सुवास भट्टराईले बताए । विगतका वर्षमा प्रमुख अतिथि र धेरै अतिथि बोलाएर सिम्रिकले साधारण सभा गरेकोमा यस वर्ष बिना प्रमुख अतिथि र खादा , मालाबेगर नै साधारण सभा गरिएको थियो । भड्किलो र खर्चिलो किसिमले साधारण सभा नगर्न प्राधिकरण दिएको निर्देशन सकारात्मक भएको अध्यक्ष भट्टराईले बताए ।
संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले कार्यक्रममा स्वागतसहित औचित्यमाथि प्रकाश पार्दै इकाइगत साधारण सभामा ४६ वटा सेवा केन्द्रबाट एक–एक जना उत्कृष्ट बचतकर्ता र एक–एक जना उत्कृष्ट ऋणीसहित ९२ जनालाई सम्मान गरिएको बताए ।
संस्थाले गत आर्थिक वर्षमा उत्साहजनक उपलब्धि हासिल गरेको कार्यकारी प्रमुख बस्नेतले बताए। गत आर्थिक वर्षमा ३८ करोड बढी वासलात वृद्धि भएर ३ अर्ब ३३ करोड पुगेको कार्यकारी प्रमुख बस्नेतले जानकारी दिए । संस्थाको हाल ६९ हजार बढी शेयर सदस्य रहेका छन् ।
संस्थाका अध्यक्ष भट्टराईले गत आव २०८१÷०८२ मा ४२ जना शेयर सदस्यको ४८ लाख २३ हजार २१५ रुपैयाँ ऋण मिनाह गरिएको बताए । उनले आगामी वर्ष ४ अर्ब वासलात पुर्याउने लक्ष्य लिएको जानकारी दिए ।
साधारण सभाका अवसरमा पत्रकार उद्धव पुरीलाई नगद १० हजारसहित सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका जनसम्पर्क अधिकारी प्रेम बस्नेत (बिजय) ले गरेका थिए ।