झापा, असोज १२ । आज बिहान इलाममा भएका दुईवटा सवारी दुर्घटनामा ५ जना घाइते भएका छन् ।

बिहान ८ बजे सूर्योदय नगरपालिका ६ हर्कटेस्थित मेची राजमार्गमा इलामबाट झापातर्फ आउँदै गरेको प्र ०२–००७ प ८८६७ नं.को मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको प्र १–०३–००१ प ४८५१ नंम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
दुर्घटनामा ४८५१ नं को मोटरसाइकल चालक इलाम रोङ ३ बस्ने बर्ष २६ का बिजय तामाङ र पछाडि सवार झापा गौरादह ७ बस्ने बर्ष २० का सन्दिप सिटौला घाइते भएका छन् । दुवैलाई स्थानीय क्लिनिक हर्कटेमा सामान्य उपचारपश्चात् थप उपचारको लागि मनमोहन अस्पताल बिर्तामोड पठाइएको छ ।
त्यस्तै ८८६७ नं. मोटरसाइकलका चालक धनुषा लक्ष्मीनिआ गाउँपालिका २ बस्ने बर्ष २२ का दिपक यादव र सोही मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने वर्ष २४ का सफिरुल साफी पनि घाइते भएका छन् । उनीहरुको स्थानीय क्लिनिक हर्कटेमा उपचार भइरहेको छ ।
त्यस्तै आज बिहान ९;३० बजे इलाम नगरपालिका १० श्रीपुरस्थित मेची राजमार्गमा बा १३ च ८०६९ नम्बरको स्कोरपियो रोकीराखेको अवस्थामा पछाडीपट्टी संगै रोकीराखेको प्र१–०२–००१ज ४४८२ नं. इभी गाडी अचानक अगाडी गुड्न गई स्कोरपियोलाई ठक्कर दिएको छ ।
स्कोरपियोमा सवार ताप्लेजुङ बाझो ८ बस्ने बर्ष ३१ की बिमला लिम्बू निधारमा चोट लागेर घाइते भएकी छन् । उनलाई उपचारको लागि जिल्ला अस्पताल इलाम पठाइएकोमा थप उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ ।



