झापा,असोज १२ । पूर्व राजा ज्ञानेन्द्र शाहले यसपटकको दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन्।

जेन–जी आन्दोलनका क्रममा सहिद भएको घटनाले आमनागरिक शोकमग्न रहेको र वातावरण संवेदनशील भएकाले आफूले सार्वजनिकरूपमा टीका लगाइदिने कार्यक्रम नगर्ने निर्णय गरेको उनले बताएका हुन्।
‘सही, सत्य, अग्रजहरुको आदर गर्ने, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत पनि हामीमा हुनैपर्दछ। जे भयो भयो, जे जे नहुनु थियो त्यो सबै भयो, अबको नयाँ पुस्ता, आउँदै गरेको नयाँ समय, आशा, विश्वास र भरोसाका साथ अघि बढोस्।’ दसैंको शुभकामना दिँदै उनले भनेका छन्, ‘यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ। त्यसैले पारिवारीक र सांस्कृतिक रुपमा मात्रै यो पर्व मनाउन हामी बाध्य छौं। हाम्रो आम शुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झैं हामीबाट वृहत्तरुपमा टीका जमरा प्रदान नहुने जानकारी गराउँदछौं। श्री नवदुर्गाभवानीले हामीलाई दिव्यपथ तर्फ अग्रसर राखून् – यही हाम्रो कामना।’
शाहले नेपाल सदा स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रुपमा उभिएको बताए। ‘हामी नेपालीहरुको राष्ट्रिय चाड विजया दशमी शरद ऋतुको प्रारम्भसँगै हाम्रा घर आँगनमा आएको छ। नवदुर्गा भवानीको पुजा आराधनाका साथ परम्परामा शुभेच्छा सद्भाव आदान प्रदान गरिने दशै पर्वको शुभ अवसरमा नेपाल भित्र र बाहिर रहेका, बसेका सबै नेपालीहरुमा हामी सुख, शान्ति र समृद्धिका निम्ति शुभकामना व्यक्त गर्दछौं।’ शुभकामना सन्देशमा भनिएको छ,‘हाम्रा पूर्वजहरुले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्तित्व, स्वाभिमान र गौरवशाली संस्कृतिको मेरुदण्ड हो। यही आधारमा नेपाल सदा स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रुपमा उभिएको छ। कुनै परनिर्भता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफै तय गर्ने सार्मथ्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्न परेको छ।’
हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौं। बिगार्ने, भत्काउने, जलाउने तिर नै हाम्रो राजकाज धेरै खटि परें। अब बिगार्ने होइन, सपार्ने तिर हाम्रा कार्यक्रम अघि बढ्नु पर्दछ।
शाहले सबैको आशा, आकांक्षा र अभिलाषा हाम्रो उत्तरोत्तर विकास भएको बताएका छन्।



