झापा, असोज १६ । रोमानियाको टेटेरानी शहरस्थित तीनतले होटलमा भएको आगलागीमा दुई नेपाली युवतीको मृत्यु भएको छ ।

रोमानियाको राजधानी बुखारेष्टबाट यो होटल करिब ६० किलोमिटरको दुरीमा रहेको छ ।

रोमानिया मामिला हेर्ने जर्मनस्थित नेपाली दूतावासका अनुसार सेप्टेम्बर २९ प्राहोभा होटलमा आगलागी भएको थियो । जसमा इलामको माई नगरपालिका–७ की २१ वर्षीया सोनी लिम्बू र काठमाडौंको दक्षिणकाली नगरपालिका–९ की २४ वर्षीया सुस्मिता तामाङको मृत्यु भएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार उनीहरुलाई उद्दार गर्न खोज्दा चुलाचुली–३ इलामकी २२ वर्षीया सुमिना मगर घाइते भएकी छन् । उनी बुधबार अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

स्थानीय नेपालीहरुका अनुसार सोनी एक वर्षअघि र सुस्मिता पाँच महिनाअघि उक्त होटलमा काम गर्ने गरी पुगेका थिए । सोही होटलमा कार्यरत म्याग्दीका नारायणबहादुर बिकले बिहान ७ बजे होटलमा आगलागी भएको बताए । ‘सोनी र सुस्मिता होटलको सवैभन्दा माथिल्लो तलामा रहेको स्टाफ कोठामा वस्थे । उनीहरुको ७ बजेदेखि डिउटी थियो । एक्कासी आगलागी भयो ’ बिकले भने,‘आगलागी भएपछि उनीहरुले गुहार गरेका थिए । तुरुन्तै दमकल पनि आइपुगेको थियो । तर जोगाउन सकिएन ।’

आगलागीअघि उक्त होटलले सुरक्षाको मापदण्ड पालना नगरेको भन्दै स्थानीय प्रशासनले एकलाख रोमानियन जरिवाना लगाई बन्द गराएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्