झापा, असोज १७ । विगतका वर्षझै यस वर्ष पनि मंगोल नेशनल अर्गनाइजेसनले दशै पर्व बहिष्कार गरेको छ ।

जिल्लाका विभिन्न स्थानमा कार्यक्रम गरी मंगोल नेशनल अर्गनाइजेसनका नेता कार्यकर्ताहरुले कालो टीका लगाएर दशैं बहिष्कार गरेका हुन् ।
हिजो मेचीनगर नगरपालिका –२ भृकुटी चोकस्थित मंगोल रिसर्च सेन्टरको सभाहलमा मंगोल नेशनल अर्गनाइजेसन मेचीनगर सभाको आयोजनामा दशै बहिष्कार कार्यक्रम गरिएको थियो । नगर सभा अध्यक्ष किशोर धिमालको अध्यक्षता तथा संगठनका केन्द्रीय अध्यक्ष बुद्धलाल मेचेको प्रमुख आतिथ्यतामा, केन्द्रीय मुल सचिव सन्तोष तामाङ, केन्द्रीय सहसचिव सानबहादुर मेचे, कोशी प्रान्तीय सभा सदस्य बानिरा मेचे, झापा जिल्ला अध्यक्ष सागर दर्जी लगायत करिब ४० जनाको उपस्थितिमा कालो टीका लगाएर दशैँ बहिष्कार गरिएको थियो ।
त्यस्तै बिर्तामोड –१० स्थित फेसबुक चोकमा मंगोल नेशनल अर्गनाइजेसन बिर्तामोड नगर सभाको आयोजनामा दशै बहिष्कार कार्यक्रम गरिएको थियो । नगर सभा अध्यक्ष दिपेन राईको अध्यक्षता तथा संगठनका केन्द्रीय प्रचारप्रसार सचिव श्याम लिम्बुको प्रमुख आतिथ्यमा झापा जिल्ला अध्यक्ष सागर दर्जी लगायत करिब ३५ जनाको उपस्थितिमा कालो टीका लगाएर दशैँ बहिष्कार गरिएको थियो ।
त्यस्तै दमक –४ स्थित दमक नगर सभाको कार्यालय , भद्रपुर –४ माबो चोकस्थित मंगोल नेशनल अर्गनाइजेसनको भद्रपुर नगर सभाको कार्यालय , कमल –५ स्थित साबित्रा चोक , बुद्धशान्ति – ३ को महानन्द टोल , कन्काई –२ स्थित मगर सामुदायिक भवनको सभाहलमा कालो टीका लगाएर दशै बहिष्कार गरिएको थियो ।



