झापा, असोज १८ । हिजो एकादशीका दिन झापाको बिर्तामोड– ८ मा लागेको गरामनी मेलामा छुरा प्रहार भएको छ । छुरा प्रहारबाट एकजना गंभीर घाइते भएका छन् ।

हिजो साँझ ६.३० बजे गरामनी मेलाको हल्दिवारी जाने बाटोमा बिर्तामोड– ७ गरामनी बस्ने सप्नी राजवंशीका छोरा बर्ष १८ का बर्षात राजवंशीमाथि छुरा प्रहार भएको हो । तत्काल नामथर नखुलेका मानिसहरुले राजवंशीलाई एक्कासि कुटपिट तथा धारिलो हतियार छुराले प्रहार गरी घाइते बनाई फरार भएको प्रहरीले जनाएको छ । गंभीर घाइतेलाई प्रादेशिक अस्पताल भद्रपुरमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । उनको पिठ्युँमा चोट लागेको छ ।
राति ८;२५ बजे बीएण्डसी अस्पतालमा खटेको प्रहरीले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराउनासाथ अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक निरीक्षक भुपेन्द्र कार्कीको कमाण्डमा ३ जनाको टोली खटिएर छुरा प्रहार गर्ने मानिसहरुको पहिचान तथा खोजतलास भइरहेको जनाइएको छ । यस वर्ष गरामनी मेलामा जुवाजन्य खेल डाइस खुलेआम खेलाइएको थियो । छुरा प्रहार भएको ठाउँ हल्दिवारी जाने बाटोमा एक दर्जन डाइस रहेका थिए ।



