झापा, असोज १८ । मेची राजमार्गअन्तर्गत झापाको सिमानामा रहेको इलामको जोरकलशदेखि ताप्लेजुङको सुकेटारसम्मको सडकमा सवारी आवागमनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय इलामले आज सूचना जारी गरी मेची राजमार्गअन्तर्गत इलामको जोरकलशदेखि राँकेसम्म एवं मेची कोरिडोर (केचना–कञ्चनजंघा सडक) मा आज बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म सबै प्रकारका साना ठूला सवारी साधनको आवागमन पूर्ण रुपमा बन्द गरिएको जनाएको हो ।

साथै दिउँसोको समयमा अत्यावश्यक भई यात्रा गर्नु परे इलामतर्फ प्रस्थान गर्ने ठूला सवारी साधन (कुल वजन १० टनभन्दा बढी भएकाहरुले) मेची कोरिडोर (केचना–कन्चनजंघा सडक) र साना सवारी साधन कुल वजन १० टनभन्दा कम भएकाहरुले सिमलगोलाई जोगमाई–तिल्केनी सडक प्रयोग गर्न सूचित गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालद्वारा जारी सूचनामा जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी भएको मौसम पूर्वानुमान अनुसार कोशी प्रदेश लगायतका स्थानमा मनसुनी गतिविधिहरु सक्रिय भई हाल उच्च मात्रामा वर्षा भइरहेको हुँदा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना समेतका आधारमा सम्भावित विपतजन्य अवस्थाबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सो व्यवस्था गरिएको उल्लेख छ ।

ताप्लेजुङ सडक डिभिजन कार्यालय इलामले पनि मेची राजमार्गमा सवारी आवागमन बन्द गर्ने सूचना जारी गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्