झापा,असोज २५ । जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरेसँगै खोटाङमा पनि फोटोसहितको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने र गराउने युवाको चहलपहल बढेको छ ।


गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन आयोगलाई दिएको निर्देशनअनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न यही असोज ९ गतेदेखि देशभर एकैसाथ मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको काम सुरु गरेसँगै खोटाङका नागरिकले पनि आफ्नो नाम दर्ता तथा अद्यावधिक गर्न थालेका हुन् ।
दश स्थानीय तह रहेको जिल्लामा दैनिक १५ देखि ४० जनासम्मले आफ्नो नाम फोटोसहितको मतदाता नामावलीमा दर्ता तथा अद्यावधिक गराउने गरेको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रवीन मगरले जानकारी दिए । ‘देशभर खुला गरिएको मतदाता नामावलीमा दर्ता तथा अद्यावधिक आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुन्छ । जिल्लामा अहिलेसम्म अपेक्षा गरेअनुसार मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने काम भएको छैन । यद्यपि, हामीले प्रचारप्रसार गरिरहेका छौँ’, उनले भने, ‘नयाँ दर्ता गराउनेले अनलाइन फाराम भरेर बायोमेट्रिक गर्न कार्यालयमा आउने तथा अद्यावधिक गर्नेहरू कार्यालय आउनुपर्दैन । नयाँ दर्ता गराउनेका लागि बिदाको दिनबाहेक दैनिक बिहान ८ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म कार्यालय खुला राखिनेछ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्