झापा, असोज २५ । जेनजी आन्दोलनका क्रममा लुटिएका एसएलआरको ५५ राउण्ड गोली झापाको कमलमा फेला परेको छ ।

हिजो साँझ ७ बजे कमल गाउँपालिका वडा नं.–७ रंगपुर बस्ने ५५ वर्षीय गंगाप्रसाद पाण्डेले केराको पात काट्ने क्रममा आफ्नो खेतबारीमा सेतो बोरामा गोली फेला पारेका हुन् । उनले बोरा खोली हेर्दा गोली रहेकाले प्रहरीलाई खबर गरेका थिए ।

आज बिहान इलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी निरीक्षक नवीन राईको टोलीले एसएलआरको गोली ७.६२ एमएम ५५ राउण्ड बुझेको थियो । ती गोली इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । जेनजी आन्दोलनका क्रममा झापामा प्रहरीबाट लुटिएका २४ थान हतियार , ५६९० वटा गोली र १८० सेल अश्रुग्यास गायव भएको छ ।

आन्दोलनकारीहरुले इलाका प्रहरी कार्यालय बिर्तामोड र इलाका प्रहरी कार्यालय दमकबाट लुटेका विभिन्न हतियार फिर्ता गरेपनि त्यति हतियार फिर्ता नगरेको प्रहरी स्रोतले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका लामो हतियार(एसएलआरलगायत) –१४ थान र त्यसको गोली ४ हजारभन्दा बढी , सानो हतियार( पेस्तोल–रिभल्वर)– २ थान र त्यसमा लोड गरिएको ४० राउण्ड गोली , सर्टगन÷ग्यासगन– ४ थान र त्यसको १८० सेल ग्यास फिर्ता गरिएको छैन ।

त्यस्तै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएका लामो नाल(एसएलआर)– १ थान र त्यसको १५०० भन्दा बढी गोली , सानो हतियार( पेस्तोल–रिभल्वर)–३ थान र त्यसमा प्रयोग हुने १५० भन्दा बढी राउण्ड गोली फिर्ता नगरी गायव बनाइएको प्रहरी स्रोतले जनाएको छ । मानवअधिकारवादीहरुको रोहवरमा आन्दोलनकारीहरुले फिर्ता गरेको ८५ थान हतियार चारआलीस्थित अरिदमण गणले प्रहरीलाई जिम्मा लगाएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्