झापा,असोज २९ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् पुनस्र्थापनाको विषयमा राष्ट्रिय सहमति जुटाउनका लागि बोलाएको प्रमुख राजनीतिक दलहरूको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले कठोर सर्तसहित सुझाव राखेका छन् ।

उनले देशमा गहिरिँदै गएको राजनीतिक अस्थिरता र जनअसन्तुष्टिको मूल कारण संरचनागत त्रुटिहरू भएको भन्दै जेनजीका माग पूरा गर्ने सुनिश्चितता भएपछि मात्र संसद् पुनस्र्थापनाको मुद्दा लिएर अघि बढ्न सभामुखलाई आग्रह गरे ।
सभामुख घिमिरेले राजनीतिक दललाई बोलाएर संसद् पुनस्र्थापनाको आवश्यकता र प्रक्रियाबारे छलफल गरेका थिए । सोही क्रममा राप्रपाका तर्फबाट सहभागी भएका प्रवक्ता शाहीले सांसदलाई निरन्तरता दिने वा पुनस्र्थापना गर्नेभन्दा पनि देशलाई सही दिशा दिनका लागि आधारभूत सुधार आवश्यक रहेको धारणा राखे ।
प्रवक्ता शाहीले वर्तमान राजनीतिक प्रणालीको असफलतालाई औँल्याउँदै देशले भोगिरहेको अस्थिरता, भ्रष्टाचार र कमजोर शासनलाई समाधान गर्नका लागि ८ बुँदे संरचनागत सुधारको खाका प्रस्तुत गरे। राप्रपाले यी मागहरू पूरा गर्ने प्रतिबद्धता सांसदबाट नआएसम्म पुनस्र्थापनाको प्रक्रिया रोक्न अडान लिएको छ।