झापा,असोज ३१ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीबिना आउँदो निर्वाचन असम्भव रहेको बताएका छन्।

उनले निर्वाचनको वातावरण बनाउनेक्रममा प्रहरीलाई पनि श्रोत साधन र मनोबलका हिसावले संमृद्ध र शक्तिशाली बनाउनुपर्ने बताए।
शुक्रबार ७०औँ प्रहरी दिवसको अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा बोल्दै समाजको हरेक घटनामा प्रहरीले अग्रभागमा रहर सुरक्षा दिँदै आएको बताए।
त्यहीकारण जेन–जी आन्दोलनमा प्रहरीमाथि आक्रमण भएको र ठुलो क्षति ब्यहोर्नुपर्ने अवस्था आएको उनको भनाइ छ। ’प्रहरी अग्रपंक्तिमा भएका कारण प्रहरीलाई धेरै क्षति पुगेको छ,’ मन्त्री अर्यालले भने, ’नेपाल प्रहरी र उनीहरूको स्रोत साधन नभए निर्वाचन समेत असम्भव छ।’
उनले यस विषयमा गम्भीरताका साथ सरकारले सोचेको र प्रहरीलाई स्रोतसधानका लागि आफूहरूले काम गर्ने बताए। जेन–जी प्रर्दशनसंगै बाढीपहिरोमा केही दिनअघि प्रहरीले निर्वाह गरेको भुमिकाको समेत उनले प्रशंसा गरे।
उनले अबका दिनमा प्रहरीलाई प्रविधिमैत्री बनाएर काम गर्नुपर्ने आवश्यकता रहेको बताए।



