झापा, असोज ३१ । स्तन दुख्दैमा क्यान्सर भनेर नआत्तिन चिकित्सकहरुले सल्लाह दिएका दिएका छन् ।

पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडको आयोजना तथा इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनको सहआयोजनामा आज भएको सचेतना कार्यक्रममा पूर्वाञ्चल क्यान्सर अस्पतालका चिकित्सकहरुले त्यस्तो सल्लाह दिएका हुन् । पूर्वाञ्चल क्यान्सर अस्पतालका विभागीय प्रमुख डा. मुक्ति देवकोटाले दुखाई स्तन क्यान्सरको लक्षण नभएको बताए । महिनावारी भएका बेला हर्मोनको गडबडी हुँदा स्तन दुख्ने गरेको उनले बताए ।

‘ धेरै महिलाहरु स्तन दुखेपछि क्यान्सर हो कि भनेर आउनुहुन्छ ’ उनले भने,‘ महिनावारीका बेला हर्मोनको गडबडी हुन्छ, यो स्तन क्यान्सरको पहिलो लक्षण होइन । ’ उनले साधारण सिस्टबाट खासै खतरा नहुने बताए । गाँठागुठी छ भन्दैमा डराउनु पर्दैन भन्दै उनले स्तनमा देखिने ८० प्रतिशत गाँठागुठी क्यान्सररहित रहेको बताए । यी क्यान्सररहित गाँठागुठीलाई चिकित्सकीय भाषामा ‘फाइब्रोसिस्टिक ब्रेस्ट सिस्ट’ भनिन्छ । उनले क्यान्सरको आशंका भएमा पहिला मेमोग्राम र भिडियो एक्सरे र त्यसपछि बायोप्सी गर्ने गरेको जानकारी दिए ।

कार्यक्रममा पूर्वाञ्चल क्यान्सर अस्पतालका अर्का चिकित्सक ज्योति लामाले पाठेघरको मुखको क्यान्सरको बारेमा जानकारी दिएकी थिइन् । पूर्वाञ्चल क्यान्सर अस्पतालकी निर्देशक अन्जली कार्की प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा जनसम्पर्क अधिकारी प्रमिश गिरीले सचेतना कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । उनले आफूहरुको अस्पतालमा गत वर्ष १११९ जना क्यान्सरका नयाँ विरामी आएको बताए ।

कार्यक्रममा इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष लुना शिवाकोटी , स्वास्थ्य विमा बोर्ड झापाकी प्रमुख लक्ष्मी कँडेललगायत दर्ता सहयोगीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्