झापा,कात्तिक १ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा असोज महिनामा करिव ३४ लाख रुपियाँ भेटी रकम सङ्कलन भएको छ ।

एक महिनाको अवधि अर्थात असोजमा उक्त भेटी रकम सङ्कलन भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार असोज महिनामा कुल ३३ लाख ८२ हजार रुपियाँ भेटी रकम सङ्कलन भएको छ । समितिले सङ्कलन गरेको उक्त रकम पाथीभरा दर्शनमा आएका भक्तजनले दान गरेको र भेटीबापत चढाएका रकम हो । भेटी विवरण समितिले साँझ सार्वजनिक गरेको हो ।
समितिले सार्वजनिक गरेको असोज महिनाको भेटी रकम भदौकोभन्दा तेब्बर बढी रहेको छ । समितिका अनुसार गत भदौ महिनामा नौ लाख ९७ हजार रुपियाँ मात्र भेटी सङ्कलन भएको थियो । समितिका अध्यक्ष रक्कीले दसैँ तिहारको समय पाथीभरा दर्शन गर्ने मुख्य सिजन (मौसम) भएकाले असोजमा भक्तजनको आगमन बढेको र सोहीअनुसार भेटी रकम पनि बढेको बताए ।
यता असोज महिनामा २९ हजार १७४ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार भदौ महिनामा चार हजार ५०३ जना भक्तजनले मात्र पाथीभरा दर्शन गरेका थिए । अहिले पाथीभरा दर्शन गर्ने मुख्य मौसम भएकाले बाक्लै संख्यामा भक्तजनको आउजाउ भइरहेको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिए । पाथीभरा दर्शनमा नेपालका विभिन्न जिल्ला र छिमेकी देश भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल लगायतका ठाउँबाट भक्तजन आइरहेको समितिले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्