झापा, कात्तिक २ । झापाको बुद्धशान्तिमा बेवारिसे नवजात शिशु भेटिएको छ ।

गएराति अन्दाजी ९ बजे बुद्धशान्ति गाउँपालिका वडा न.७ सुनमाईस्थित सीमा आचार्यको घरको अगाडीको वरन्डामा अन्दाजी ४–५ दिनको जस्तो देखिने शिशु (छोरी) बेवारिसे अबस्थामा भेटिएको हो । सोही घरमा भाडा लिई बस्ने ताप्लेजुङ श्रीजगा ७ बस्ने ओमप्रकाश तुमीहाङ लिम्बूले देखेर इलाका प्रहरी कार्यालय बुधबारेमा जानकारी गराएका थिए ।
ती शिशुलाई कसले छोडेको हो भनेर थाहा हुन सकेको छैन । इप्रका बुधबारेको टोली खटिएर स्थानीय, भद्रभलादमी तथा जनप्रतिनिधिको समन्वयमा ती शिशुलाई प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । शिशुको अबस्था समान्य रहेको छ । त्यसवारे थप अनुसन्धान तथा बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
योसंगै करिव एक वर्षको अवधिमा झापामा चारजना जीवित नवजात शिशु बेवारिसे अबस्थामा फेला परेका छन् । यसअघि गत वर्षको मंसिर २३ गते बुद्धशान्ति गाउँपालिका वडा नं. ४ धर्ममार्गस्थित किरण मगरको खाली घरमा रहेको कुखुराको खोरमाथि नवजात शिशु फेला परेका थिए । दुई दिनको जस्तो देखिने जीवित नवजात शिशु (छोरी) तन्ना, सुरुवाल,भेलभेटको तौलीमा पोको पारी छोडेर गएको अबस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीया मिना लिम्बूले घाँस काट्न जाँदा फेला पारेकी थिइन् ।
त्यस्तै गत वर्षको कात्तिक २९ गते मेचीनगरको निन्दा खोलानजिकै घारीमा सालनालसहितको नवजात शिशु फेला परेका थिए । मेचीनगर ११ सृजना टोल बस्ने ३७ वर्षीया इन्दिरा प्रसाई (अधिकारी) ले मर्निङ वाक गर्ने क्रममा ती नवजात शिशुलाई फेला पारेकी थिइन् ।
त्यस्तै गत वर्षको भदौ १२ गते साँझ भद्रपुर नगरपालिका वडा नं. ७ को चन्द्रगढी हुँदै फूलबारी टोल जाने बाटो छेउको झाडीमा एक नवजात शिशु बेवारिसे भेटिएका थिए । ती बेवारिसे भेटिएका तीनजना शिशुलाई पालनपोषणका लागि विभिन्न व्यक्तिहरुलाई जिम्मा लगाइएको थियो । त्यसमध्ये एकजना शिशुको मृत्यु भएको छ ।
उता सुनसरीमा पनि एकजना नवजात शिशु बेवारिसे अवस्थामा फेला परेका छन् । गएराति ९ बजे सुनसरी कोशी गाउँपालिका– ८ शर्मा टोलका बिजयकुमार खत्वेको ऐलानी जग्गाको कम्पाउण्ड वाल छेउमा नवजात शिशु फेला परेका हुन् । बच्चा रोएको जस्तो आवाज सुनेर हेर्न जाँदा नवजात शिशु (छोरा) प्लास्टिकको झोलामा पोको पारी फालेको अबस्थामा भेटिएको प्रहरीले जनाएको छ ।