झापा,कात्तिक २ । कांग्रेसको महाधिवेशन मंसिरभित्रै गराउने गरी महामन्त्री गगन थापाले प्रस्ताव गरेको कार्यतालिका संस्थापन पक्षले अस्वीकार गरेको छ ।

कार्यसम्पादन समितिमा कार्यवाहक सभापति खड्कासहित अधिकांश संस्थापनपक्षीय नेताहरू २१ फागुनका लागि तय आमनिर्वाचन अगाडि पार्टीको महाधिवेशन नगराउने पक्षमा देखिएका हुन् ।
केन्द्रीय कार्यसमितिमा लैजाने एजेन्डा सभापतिको सहमतिमा मात्रै अघि बढाउने परम्परा छ । यसअघि पदाधिकारी बैठकबाट एजेन्डा तय गरिन्थ्यो । उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएपछि उनले विधानमा व्यवस्था नभएको पदाधिकारी बैठकको ठाउँमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउन थालेका छन् । महाधिवेशनका विषयमा सहमति जुटाउन बिहीबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकमा थापाले कार्यतालिकाको प्रस्ताव गरेका थिए ।
कांग्रेसका एक नेताका अनुसार संस्थापन पक्षका नेताहरू मंसिरभित्र विशेष र नियमित दुवै महाधिवेशन गर्ने पक्षमा देखिएका छैनन् । संस्थापन बाहुल्य कार्यसम्पादन समितिमा सहमति नजुटेपछि मंसिरभित्र महाधिवेशन गराउने एजेन्डा केन्द्रीय कार्यसमिति बैठकमा समेत प्रवेश नहुने संकेत देखिएको छ । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा भने नियमित महाधिवेशन नगरे पनि विशेष महाधिवेशन टार्न नसकिने बताउँदै आएका छन् ।

१४ औं महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनका लागि गत २९ असोजमा केन्द्रीय कार्यालयमा निवेदन दिइएको छ । विशेष महाधिवेशनका लागि अगुवाइ गर्ने नेता गुरुराज घिमिरे केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशन टार्न खोजेपछि विशेष महाधिवेशन सुनिश्चित रहेको बताउँछन् । ‘मंसिरभित्रै नियमित महाधिवेशन बोलाउने निर्णयमा गएको भए विशेष महाधिवेशनको मागलाई निष्क्रिय बनाउन सकिन्थ्यो तर त्यो दिशामा उदासीनता देखिएपछि अब विशेष महाधिवेशनको सुनिश्चिततातिर अघि बढेको छ,’ उनी भन्छन्, ‘माग भइसकेपछि तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुको विकल्प छैन । यसलाई छल्न वा टार्न मिल्दैन ।’

पार्टीका पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनका कारण शनिबार स्थगित गरिएको केन्द्रीय कार्यसमिति बैठक अब तिहारपछि मात्रै बोलाइएको छ । केन्द्रीय सदस्य रामहरि खतिवडाका अनुसार बैठक १३ कात्तिकदेखि हुनेछ । ‘२१ फागुनमै निर्वाचन हुने अवस्था भयो भने मंसिरमा महाधिवेशन गराउँदा निर्वाचनमा असर पु¥याउन सक्छ,’ उनी भन्छन्, ‘पार्टीभित्रको बृहत् एकता र निर्वाचनतिर सम्पूर्ण ध्यान केन्द्रित गर्न केही समय अघिपछिलाई इगो बनाउनु हुँदैन ।’
नेता घिमिरे भने तिहारलगत्तै विशेष महाधिवेशनको मिति तय गर्न केन्द्रीय कार्यसमितिलाई दबाब दिइने बताउँछन् । पार्टी विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशन माग गरे केन्द्रीय कार्यसमितिले तीन महिनाभित्र बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ ।
महामन्त्री थापाले प्रस्तावका रूपमा अघि सारेको पहिलो विकल्पमा केन्द्रीय प्रतिनिधिहरूको चयनपछि सिधै केन्द्रीय महाधिवेशन गर्ने उल्लेख छ । यसका लागि २१ कात्तिकसम्म क्रियाशील सदस्यताको विषय टुंगो लगाउने, ७ मंसिरमा सदस्यताको नामावली निर्वाचन समितिलाई बुझाउने, त्यसपछि १२ र १३ मंसिरमा वडा अधिवेशन गर्ने, २१ मंसिरमा प्रतिनिधिसभा क्षेत्र, क्षेत्रीय, केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन र जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ । क्षेत्रको अधिवेशन सकिएपछि सिधै २७–२९ मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव उनको छ ।

अर्को विकल्प सबै तहका अधिवेशन सम्पन्न गर्ने तालिका छ । यसअन्तर्गत २१ कात्तिकभित्र क्रियाशील सदस्यताको टुंगो लगाउने, कात्तिक मसान्तमा निर्वाचन समितिलाई नामावली बुझाउने, ८ मंसिरमा एकै दिन वडा अधिवेशन, १२ मंसिरमा प्रदेशसभाको अधिवेशन, १५ मंसिरमा प्रतिनिधिसभा क्षेत्र, केन्द्रीय महाधिवेशन प्रतिनिधि र जनसम्पर्क समितिको अधिवेशन गर्ने उनको प्रस्ताव छ । केन्द्रीय महाधिवेशनका प्रतिनिधिहरू प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुन्छन् । १८ मंसिरमा जिल्ला अधिवेशन र २१ मंसिरमा क्षेत्रीय अधिवेशन सम्पन्न गरेपछि २७–२९ मा केन्द्रीय महाधिवेशन गर्ने तालिका महामन्त्री थापाले प्रस्ताव गरेका छन् ।

मंसिरभित्रै नियमित महाधिवेशन गर्ने कि नगर्ने भन्नेमा संस्थापन पक्षभित्रै मत विभाजित छ । शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने संस्थापन पक्षकै सदस्यहरूमध्ये आधा दर्जनभन्दा बढीले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्