झापा, कात्तिक २ । जेनजी आन्दोलनका बेलामा सामाजिक संजालमा राजीनामा लेख्ने झापाका ८ जना एमालेका जिल्ला स्तरीय कार्यकर्तालाई पार्टीले निलम्बन गरेको छ ।

नेकपा एमाले र तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई लक्षित गरेर जेनजी आन्दोलन गरिएपछि जोगिन धेरैले एमालेबाट राजीनामा दिएको घोषणा गरेका थिए । तीमध्ये ८ जना जिल्ला स्तरीय कार्यकर्ता पहिलो चरणको निलम्बनको कार्वाहीमा परेका हुन् ।
त्यस किसिमको कार्वाहीमा पर्नेमा बाह्रदशी गाउँपालिकाका अध्यक्ष तथा पार्टीका जिल्ला सदस्य देवेन्द्र चम्लागाई, शिवसताक्षी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य सिकिन पासवान पनि छन् ।
त्यसबाहेक दमक घर भएका जिल्ला सचिवालय सदस्य महेश घिमिरे , शिवसताक्षी ठेगाना भएका जिल्ला सदस्य अग्निबहादुर कार्की , बिर्तामोड ठेगाना भएका जिल्ला सदस्य विदुर तिवारी , बाह्रदशी ठेगाना भएका जिल्ला लेखा कमिटी सदस्य घनेन्द्र ढकाल , गौरादह ठेगाना भएका जिल्ला विभाग सदस्य विनोद अधिकारी र दमक ठेगाना भएका जिल्ला विभाग सदस्य सन्तोष दुलाल रहेका छन् ।
भदौ २३ र २४ गते भएको आन्दोलनका बखत जिल्ला कमिटीको जिम्मेवारीमा रहेका ती कार्यकर्ताहरुले पार्टीको जिम्मेवारीलाई बिर्सिएर आन्दोलनलाई मलजल हुने गरी सामाजिक सञ्जालमार्फत पार्टी र पार्टी नेतृत्वको विरुद्धमा अभिव्यक्ति दिएकाले जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरिएको एमाले जिल्ला कमिटी झापाले जनाएको छ । जिल्ला कमिटीसंगै उपल्लो र मातहतका अन्य कमिटीमा रहेका कार्यकर्ताहरुमाथि पनि कार्वाही शुरु गरिएको छ ।
आन्दोलनको क्रममा मातहतका कमिटीका विभिन्न जिम्मेवारीबाट बाहिर हुने गरी सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिने कार्यकर्ताहरुलाई छानबिन गरी निर्णय लिन सम्बन्धित कमिटीहरुलाई जिल्ला कमिटीले निर्देशन दिएको छ । त्यस्तै माथिल्लो कमिटीका जिम्मेवारीमा रहेका नेता कार्यकर्ताको हकमा सम्बन्धित कमिटीलाई जिल्ला कमिटीको तर्फबाट अनुशासनको कार्वाही गर्न सिफारिस गर्ने निर्णय गरिएको छ ।
यसैबीच लागूऔषधको कारोवारमा संलग्न भएर कार्वाहीमा परेका जिल्ला कमिटी सदस्य राजेन्द्र पन्धाकलाई जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरिएको छ ।
आफूलाई निलम्बन गरिएको सामाजिक संजालबाट थाहा पाएपनि अहिलेसम्म पार्टी कार्यालयबाट पत्र नआएको बाह्रदशी गाउँपालिकाका अध्यक्ष चम्लागाईले बताए । जेनजीको आन्दोलनका बेला धेरैले राजीनामा दिएको घोषणा गरेका थिए । बाह्रदशी गाउँपालिकाका अध्यक्ष चम्लागाईले एमाले बाह्रदशी गाउँ कमिटीलाई संबोधन गरी आफू एमालेको साधारण सदस्यसमेत नरहने गरी सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका थिए ।
त्यस्तै कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले एमालेको कुनै पनि पद र पालिकाको उपाध्यक्ष पदबाट समेत राजीनामा दिने निर्णय गरेकी थिइन् । त्यस्तै कनकाई ३ का वडाध्यक्ष युवराज चम्लागाईले एमाले पार्टी र वडाध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।
एमालेका सदस्य तथा कनकाई माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष चन्द्रप्रसाद प्रसाईले दुबै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । त्यस्तै एमाले जिल्ला कमिटी सदस्य किशोर भट्टराईले २०६४मंसिर ४ गते लिएको सङ्गठित सदस्यता फिर्ता गर्दै कुनै पनि पार्टीको सदस्यता नलिने घोषणा गरेका थिए ।
त्यस्तै बाह्रदशी वडा नं ३ का वडा सदस्य हेमलाल दाहालले एमाले पार्टी परित्याग गरेका थिए भने मेचीनगर १ मा एमालेबाट निर्वाचित वडा सदस्य शान्ताकुमार न्यौपानेले पनि अब कुनै पनि पदमा नरहने घोषणा गरेका थिए । त्यस्तै कन्काई ७ का पत्रकार रामप्रसाद निरौलाले एमालेसहित यसको जनवर्गीय संगठन प्रेस चौतारी नेपालको साधारण सदस्यसमेत नरहने बताएका थिए ।
त्यस्तै अनेरास्ववियुका बलराम गिरीले पनि पार्टी र संगठनमा नरहने घोषणा गरेका थिए भने बिर्तामोडका युवराज निरौला , टहलदास ओली , लक्ष्मीप्रसाद घिमिरे , गंगादेवी ओली , डिल्लीमाया आचार्यलगायतले पनि एमाले परित्याग गरेको जनाएका छन् ।
जेनजीको आन्दोलनपछि नेपाली कांग्रेसका कार्यकर्ताहरुले पनि राजीनामा दिएको घोषणा गरेका थिए । नेपाली काँग्रेसका झापा गाउँपालिका सभापति सागिरथप्रसाद गणेशले सामाजिक संजालमार्फत राजीनामा दिएको घोषणा गरेका थिए ।
त्यसैगरी नेपाली काँग्रेसका जिल्ला सदस्य ठोमनाथ नेपाल र झापा गाउँपालिका वडा नं १ का सभापति रुपलाल गणेशले पनि राजीनामा दिएका थिए । त्यस्तै नेकपा एमाले वडा नं १ का अध्यक्ष घनश्याम गणेशले पनि राजीनामा दिएको घोषणा गरेका थिए ।



