झापा, कात्तिक ४ । लक्ष्मी पूजाका दिन झापामा अत्यधिक सवारी दुर्घटना भएको छ ।

जिल्लामा भएका १३ वटा दुर्घटनामा २५ जना घाइते भएका छन् । जिल्लाका भित्री सडकहरुमा अधिकांश मोटरसाइकल र सिटी सफारी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

हिजो बिहान ६ः३० बजे बिर्तामोड– ९ नडियाबारीस्थित भित्री सडकखण्डमा हल्दिवारीबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र१–०१–००२ ह ४४६२ अटो अनियन्त्रित भई दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । दुर्घटनामा अटो चालक हल्दिवारी –२ बस्ने बर्ष ४० का धनवीर राजवंशी , उनका छोरा बर्ष १५ का बिनोद राजवंशी र सोही ठाउँ बस्ने बर्ष ३६ की कञ्चन राजवंशी घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको छ ।

त्यस्तै हिजो विहान ९ बजे कमल गाउँपालिका–५ सितापुरी साकेला चोकस्थित पूर्वपश्चिम लोकमार्गमा दमकबाट झिलझिलेतर्फ आउँदै गरेको को १ ख ६४३३ नम्बरको बस र बिपरित दिशाबाट जाँदै गरेको मे १ ज ९७ नम्बरको बोलेरो एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ । दुर्घटनामा बोलेरो चालक पाँचथर फाल्गुनन्द –५ बस्ने बर्ष ४९ का पंचकुमार चेम्जोङ, बोलेरोमा सवार सोही ठाउँ बस्ने बर्ष २७ की सजिना राई, कमल –२ बस्ने बर्ष ३५ की आशा चेम्जोङ, उनका छोरा बर्ष १४ का रिवश आङदम्बे घाइते भएका छन् । घाइतेहरुको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ । बोलेरो नचल्ने अवस्थामा रहेको छ भने बसमा सामान्य क्षति भएको छ । बस र बस चालक धरान –८ बस्ने बर्ष ४८ का कालुराम रानालाई नियन्त्रणमा लिई प्रहरी चौकी केर्खामा राखिएको छ ।

त्यस्तै हिजो मध्यान्ह १२ बजे अर्जुनधारा– ७ शनिश्चरे बहुमुखी क्याम्पसअगाडी शनिश्चरे– खुदनाबारी सडकखण्डमा नारायण चोकबाट शनिश्चरेतर्फ आउँदै गरेको प्र.१ –०१–००२ ह २२६८ नं को सिटी सफारी युटर्न गर्ने क्रममा सोही दिशाबाट आउँदै गरेको प्र १–०१–०१६ प ३३२१ नं को मोटरसाइकल ठक्कर खाई दुर्घटना भएको छ । मोटरसाइकल चालक इलाम माई– २ बस्ने बर्ष २६ का युगल साउदेन अनुहारमा चोट लागेर घाइते भएका छन् । उनको शंकर अस्पताल शनिश्चरेमा उपचार भइरहेको छ । उपचारमा सिटी सफारी चालक अर्जुनधारा– ८ बस्ने बर्ष ६० का टिकाराम खड्का संलग्न रहेका छन् ।

त्यस्तै हिजो दिउँसो ४ बजे बुद्धशान्ति वडा न.३ आदर्श चोकस्थित भित्री सडकखण्डमा सात नं. चोकबाट वन कार्यालयतर्फ जाँदै गरेको प्र.१–०२–००४ ह. ८४०० नं. को सिटी आफै अनियन्त्रित भई सडक छेउमा रहेको बिजुलीको पोलमा ठक्कर खाएर पल्टिएको छ । सिटीमा सवार मोरङ रतुवामाई .वडा न. ८ बस्ने भावना खनालका छोरा बर्ष ४ का शंकर खनाल घाइते भएका छन् । निधारमा चोट लागेका ती बालकको बुधबारेस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ । उपचारमा उनकी आमा र सिटी चालक मेचीनगर वडा न.१४ बस्ने बर्ष ३९ का सुरेन्द्र भट्टराई संलग्न रहेका छन् । सिटी इलाका प्रहरी कार्यालय बुधबारेको नियन्त्रणमा रहेको छ ।

त्यस्तै हिजो साँझ ५ः३० बजे बुद्धशान्ति वडा न.२ झम्के चोकस्थित भित्री सडकखण्डमा जयपुरबाट बिरिङ पुलतर्फ जाँदै गरेको प्र.१–०१–०१२ प. ८२९९ नम्बरको स्कुटीलाई सोही दिशातर्फ जाँदै गरेको मे. ४ प. ७०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पाँचजना घाइते भएका छन् । दुर्घटनामा पैदलयात्री बुद्धशान्ति वडा न.२ बस्ने बर्ष ७० की मनमाया बोहोरा , स्कुटी चालक बुद्धशान्ति –२ बस्ने बर्ष ५५ का ड्राइभरसिंह बराईली ,स्कुटी पछाडी सवार बर्ष ४६ की सर्मिला बि.क. घाइते भएका छन् । तीनै जना घाइतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । त्यस्तै मोटरसाइकल चालक अर्जुनधारा –२ बस्ने बर्ष १८ का पुजन मगराती र मोटरसाइकलमा पछाडि सवार बर्ष १७ का निर्मल सिवा पनि घाइते भएका छन् । उनीहरुलाई भगिरथ अस्पताल बुधबारेमा लगिएको थियो । मोटरसाइकल चालक मगरातीलाई थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड रेफर गरिएको छ ।

त्यस्तै हिजो साँझ ६ः३० बजे दमक नगरपालिका वडा न. ५ यलम्बर चोकस्थित भित्री सडकखण्डमा राजमार्गबाट यलम्बर चोकतर्फ जाँदै गरेको को १८ प ३७९१ नम्बरको मोटरसाइकलले पैदलयात्री पाँचथर याङवरक २ घर भई हाल दमक ५ मा डेरा गरी बस्ने बर्ष २५ की एलिसा लिम्बूलाई ठक्कर दिएको छ । घाइतेको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ । उपचारमा मोटरसाइकल चालक दमक ५ बस्ने बर्ष २१ का सौगात बिक संलग्न रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

त्यस्तै हिजो साँझ ६ बजे हल्दिबारी वडा नं ४ मङ्गलबारे बजारस्थित भित्री सडकखण्डमा मङ्गलबारेबाट अधिकारी चोकतर्फ जाँदै गरेको प्र१.०२०० ह ९४६४ न. को सिटी आफैँ अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा सिटीमा सवार कचनकवल ४ बस्ने वर्ष २९ का चालिस्टार मियाँ र सोही ठाउँ बस्ने वर्ष ४० का उस्त्रान खान मियाँ घाइते भएका छन् । उनीहरुको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । सिटी चालक कचनकवल वडा नं ४ बस्ने वर्ष ३२ का बिहान मियाँ घाइतेको उपचारमा संलग्न रहेका छन् ।

त्यस्तै हिजो साँझ ७.३० बजे बाह्रदशी ६ कुमाल बस्तीस्थित भित्री सडकखण्डमा चैतुबारीबाट चकचकीतर्फ जाँदै गरेको मे ११ प २३८७ नं. को मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँ बस्ने बर्ष ५५ का देवनारायण पण्डित घाइते भएका छन् । टाउकोमा चोट लागेका घाइते पण्डितलाई मोटरसाइकल चालक बाह्रदशी वडा न.४ चकचकी बस्ने वर्ष २७ का सरिफ मियाले बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गराइरहेका छन् । मोटरसाइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय घैलाडुब्बामा राखिएको छ ।

त्यस्तै गएराति ८ः३० बजे दमक नगरपालिका वडा न. १ चुलाचुली बोर्डिङस्थित भित्री सडकखण्डमा हवल्दार चोकबाट फाल्गुनन्द चोकतर्फ जाँदै गरेको मे.४ प ७०२२ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका साइकलयात्रीलाई ठक्कर दिएको छ ।साइकलयात्री दमक १ बस्ने बर्ष ६५ का श्यामदेव महतोको अनुहार र दुबै हातखुट्टामा चोट लागेको छ । दमक अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ । दुर्घटनामा मोटरसाइकल चालक दमक २ बस्ने बर्ष २४ का रोमन कार्की पनि घाइते भएका छन् । उनको दमक अस्पताल दमकमा उपचार भइरहेको छ ।

त्यस्तै राति ८ः३० बजे अर्जुनधारा वडा नं.८ स्थित शनिश्चरे– जयपुर सडकखण्डमा शनिश्चरेबाट जयपुरतर्फ जाँदै गरेको प्र.१–०१–००२ ह ५८२ नं. को सिटी सफारीले पैदलयात्री सोही ठाउँ बस्ने बर्ष ५३ का देवीप्रसाद गौतमलाई ठक्कर दिएको छ । टाउको र हातमा चोट लागेर घाइते भएका गौतमलाई शनिश्चरे अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । सिटी सफारी र चालक बुद्धशान्ति वडा नं.२ बस्ने बर्ष १९ का मनिष दर्जीलाई नियन्त्रणमा लिई प्रहरी चौकी शनिश्चरेमा राखिएको छ ।

त्यस्तै राति ९ बजे दमक वडा नं. ५ गुम्बा चौकस्थित भित्री सडकखण्डमा गुम्बा चौकवाट डिपुचौकतर्फ जाँदै गरेको प्र१–०१–०१६प ३५३४ नं. को मोटरसाइकलले साइकलयात्री दमक ३ बस्ने बर्ष ५२ का रामकुमार दर्जीलाई ठक्कर दिएको छ । घाइते साइकलयात्रीको दमक अस्पताल दमकमा उपचार भइरहेको छ । दुर्घटनामा मोटरसाइकल चालक दमक .५ बस्ने बर्ष २९ का यादव राई पनि घाइते भएका छन् । टाउकोमा चोट लागेर सामान्य उपचारपश्चात् नियन्त्रणमा लिई मोटरसाइकलसहित उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

त्यस्तै हिजो साँझ ६ः३० बजे गौरादह वडा नं. ५ बालुबथानस्थित भित्री सडकखण्डमा बालुबथानवाट रतुवामाईतर्फ जाँदै गरेको को.१प ११४५ नं. को मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने बर्ष ७१ की अमृता खत्रीलाई ठक्कर दिई घाइते बनाएको छ । घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । दुर्घटनापछि फरार रहेका मोटरसाइकल र चालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै राति १२;३० बजे मेचीनगर –७ गिरीगाउँस्थित भित्री सडकखण्डमा इटाभट्टाबाट दोकान डाँडातर्फ जाँदै गरेको प्र १–०२–०४० प २८१३ न.को मोटरसाइकल .आफै अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर हुरहुरे बस्ने बर्ष २२ का संजय राई घाइते भएका छन् । घाइतेको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्