झापा, कात्तिक ९ । पर्यटकीय सिजनको सुरुमै इलामका चर्चित पर्यटकीय स्थल अन्तु र कन्याममा पर्यटकको ओइरो लाग्न थालेको छ ।

गत असोज १८ गतेको बाढीपहिरोपछि केहि समय सुनसान भएका अन्तु कन्याममा मौसम खुलेसँगै आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्न थालेको हो ।

बाढीपहिरोले क्षति गरेका सडकलगायतका संरचना मर्मत तथा पुनर्निर्माण गरिएसँगै अन्तु कन्याममा दैनिक हजारौँ पर्यटक आउन थालेको अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेले जानकारी दिए ।
जेनजी आन्दोलन र बाढीपहिरोपछि भारतीय पर्यटकको चहलपहल घटेको अन्तु कन्याममा अहिले भारतीय पर्यटकले खचाखच बन्न थालेका छन् । अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष घिमिरेले अन्तुमा भएका होटल, होमस्टे र कटेजमा पर्यटक नअटेपछि गाउँका घरमा समेत पर्यटक राखिएको जानकारी दिए । अध्यक्ष घिमिरेले भने, ‘‘मौसम खुलेसँगै अन्तुबाट सूर्योदयको दृश्यावलोकन गर्ने पर्यटकको घुइँचो लागेको छ ।’’
इलाममा बाढी पहिरोको त्रासका कारण भारतीय पर्यटक आउन छोडेका थिए । तर कन्याम अन्तु पर्यटकका लागि सुरक्षित रहेको पाएपछि पर्यटकको संख्या ह्वात्तै बढेको छ । अहिले अन्तुमा मात्र स्वदेशी तथा विदेशी गरी दैनिक पाँच हजारभन्दा बढि पर्यटक भित्रिने गरेका छन् । कात्तिक र मंसिर महिना अन्तुबाट सूर्योदयको दृश्यावलोकन गर्ने सिजन हो । बिहानको झिसमिसेमै सूर्योदयको दृश्यावलोकन गर्ने पर्यटकले अन्तुडाँडा खचाखच बन्न थालेको छ ।

अन्तुमा झुल्के हेर्न, अन्तु पोखरीमा डुङ्गा सयर गर्न, विभिन्न जातीय पोसाकमा सजिएर घोडचढी गर्न र चियाबारीको दृश्यावलोकनका लागि पर्यटक आउने गरेका छन् । अन्तुमा बाह्रै महिना पर्यटकको भीड लाग्ने गर्दछ ।

कन्याममा पनि पर्यटकको चाप बढेको छ । ‘‘कन्याम बाढीपहिरोपछि प्रायः सुनसान थियो, अहिले आन्तरिक पर्यटकले भरिभराउ भएको छ ।’’ होटल व्यवसायी टेकराज गिरिले भने । कन्याममा चियाबारीमा रमाउन, वनभोज गर्न, जातीय पोसाकमा सजिएर घोडचढी गर्न र चियाको अध्ययन ,अनुसन्धानका लागि पर्यटक आउने गरेका छन् । स्वदेशी तथा भारतीय पर्यटकको रोजाइमा परेको कन्याममा पनि भारतीय पर्यटकको समेत चहलपहल सुरु भएको छ ।

सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले बाढीपहिरोपछि पनि कन्याम अन्तुसहित सूर्योदयका पर्यटकीय स्थल पर्यटकका लागि सुरक्षित रहेको जानकारी दिए । नगरले बाढीपहिरोबाट क्षति भएका ८७ वटा सडक सञ्चालनमा ल्याइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्