झापा, कात्तिक ९ । छठ पूजामा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी झापामा नेपाली सेनासहितको सुरक्षा फौज परिचालन गरिने भएको छ ।

विगत एक सातादेखि जिल्लाका मुख्य बजारहरुमा परिचालित संयुक्त सुरक्षा गस्तीलाई छठ पूजामा केन्द्रिकृत गरिने भएको हो । झापाका मुख्य बजारहरुमा कात्तिक ३ गतेदेखि नेपाली सेना , सशस्त्र प्रहरी र जनपद प्रहरीले संयुक्तरुपमा गस्ती गर्दै आएका छन् ।

दिन र रात गरी झापामा १२ सिफ्टमा नेपाली सेनाका १५० जना फौजले गस्ती गर्दै आएको श्री अरिदमन गण चारआलीले जनाएको छ । छठ पूजामा मानिसको बढी भीडभाड हुँदा विभिन्न आपराधिक क्रियाकलाप हुन सक्ने भएकाले सेनाको गस्ती टोलीलाई त्यसतर्फ परिचालन गरिने गणले जनाएको छ । गस्तीमा खटिएका सेनाका फौजले जुवातास खेल्ने , पटाका पड्काउने जस्ता गतिविधि नियन्त्रणमा सहयोग गर्दै आएका छन् ।

त्यस्तै छठ पूजाको दिन जिल्लाभरि ७ सयभन्दा बढी नेपाल प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बढी भीडभाड हुने भद्रपुरको मेची , कन्काईको बिरिङ, बिर्तामोडको अन्धुवा , दमकको रतुवालगायतका ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

त्यस्तै आबश्यकता अनुसार सशस्त्र प्रहरी पनि परिचालन हुने भएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला सुरक्षा समितिको निर्देशन बमोजिम छठ पूजामा सुरक्षाकर्मीहरु खटिने जनाइएको छ । झापाको करिव दुई दर्जन ठाउँमा छठ पूजा हुने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्