कुमरखोद , कात्तिक ९ । झापा गाउँपालिकाका स्थानीयहरुले रोकेर अवरोध गर्न खोजेको गाडीमा माछा नभएर खाली काटुन रहेको प्रहरीले जनाएको छ ।

स्थानीयले दावी गरेजस्तो आफूहरुको मिलेमतोमा तस्करी नभएको प्रहरीले स्पष्ट पारेको हो ।
प्रहरीकै संरक्षणमा तस्करहरुले एक गाडी माछा भारतबाट नेपाल भित्र्याएको समाचार प्रकाशित भएपछि प्रहरीले आफ्नो धारणा सार्वजनिक गरेको हो । रिसिइबी भएका केही व्यक्तिहरुले खाली काटुन बोकेर आउँदै गरेको गाडी तोडफोड गर्न खोजेपछि प्रहरीले सुरक्षा दिएर त्यहाँबाट पठाएको एक अधिकृतले बताए ।
छठ पर्वको अवसरमा हुलाकी सडकअन्तर्गत पर्ने सानोमाई खोलाको किनारमा धार्मिक मेला लगाएका झापाली युवा क्लवका युवाहरुले आज दिउँसो १ बजे हुलाकी सडक हुँदै पश्चिमवाट पूर्वतर्फ जाँदै गरेको प्र.१–०१–००२च०६५२ नं को महेन्द्रा कम्पनीको पिकअप भेनलाई रोकेका थिए । नेपालमा विक्री गर्न प्रतिवन्धित माछाको काटुन लोड गरिएको भन्दै गाडी रोकेर उनीहरुले चावी खोसेका थिए ।
चेक गर्न खोज्दा इलाका प्रहरी कार्यालय कुमरखोदका घुमुवा प्रहरी सहायक हवल्दार विकास घिमिरेले चेकजाँच गर्न नदिइ गाडीलाई त्यहाँबाट पठाएका थिए ।



