झापा,कात्तिक १४ । नेपाली सेनाले मुस्ताङ जिल्लाको हिडन भ्याली क्षेत्रमा हिमपातमा फसेका तीन विदेशीसहित १५ जना पर्यटकहरूलाई उद्धार गरेको छ ।

नेपाली सेनाको उच्च शिखर शिक्षालयबाट खटिएको उद्धार टोलीले तीन दिनको प्रयास पश्चात् कात्तिक १४ गते उनीहरूको उद्धार गरिएको सेनाले जानकारी दिएको हो । सेनाका अनुसार हिडन भ्यालीको करिब ४ हजार ९०० मिटरको बतासे डाँडामा फेला पारेर उद्धार गरेको हो ।
उद्धार गरिएका पर्यटकहरूको साधारण स्वास्थ्य परीक्षण पश्चात् नेपाली सेनाको इन्द्र बक्स गण, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र गैरसैनिक पथप्रदर्शक सहितको संयुक्त उद्धार टोलीले उनीहरुलाई जोमसोम ल्याउने कार्य गरिरहेको नेपाली सेनाले जनाएको छ ।
 
                 
		
 
 


 
  
  
 