झापा, कात्तिक १६ । डिभिजन वन कार्यालय झापाले करिव एक महिनाअघि जथाभावी नाङ्गो विद्युतीय तारवार लगाउँदा धेरै हात्ती मरेको भन्दै त्यस्तो गैरकानूनी कार्य गर्न नदिन १५ वटै पालिकालाई पत्र पठायो । त्यस विषयमा पालिकाहरुले आ–आफ्ना वडाहरुलाई परिपत्र जारी गरी औपचारिकतामात्र पूरा गरे । न विद्युतीय धराप हटाउने काम भयो न धराप थाप्नेलाई कार्वाही नै ।

हालसम्म झापामा २६ वटा जंगली हात्तीको मृत्यु भएकोमा वन कार्यालयको खोज अनुसन्धान तथा पोष्टमार्टम रिपोर्टबाट १४ वटा हात्तीको विद्युतीय धरापमा परी मृत्यु भएको तथ्याङ्कले देखाएको छ । यति धेरै हात्तीलाई विद्युतीय धरापमा पारी मारिरहँदा अहिलेसम्म कसैमाथि पनि कार्वाही भएको छैन । अहिलेसम्म कसैमाथि पनि कार्वाही गर्न नसकिएको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले बताए । उनका अनुसार विद्युतीय धरापबाट हात्तीलाई मारेको भनेर प्रमाण जुटाउनै गाह्रो छ ।
झापाको विभिन्न हात्ती प्रभावित क्षेत्रहरुमा विगत केही वर्षदेखि किसानहरुले आफ्नो अन्नवाली तथा घरगोठको सुरक्षा गर्ने नाममा संगठित रुपमै वा व्यक्तिगत तवरले जथाभावी नाङ्गो विद्युतीय तारवार ( धराप ) लगाउने कार्य गर्दै आएका छन् । जसबाट हात्तीमात्र मरेका छैनन् , धराप थाप्ने स्वयं धेरैजनाले ज्यान गुमाइसकेका छन् । विद्युतीय तारवार जथाभावी लगाउँदा मानवीय क्षति भई निर्दोष नागरिकले समेत अनाहकमा ज्यान गुमाउनु परिरहेको छ । तर पनि विद्युतीय धराप थाप्ने काम रोकिएको छैन ।बाहुनडाँगी क्षेत्रमा विद्युतीय धरापमा परी मारिएका दुईवटा हात्तीको विषयमा अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
वन कार्यालयले सम्बन्धित सरोकारवालाहरुलाई जथाभावी विद्युतीय धराप नराख्न पटकपटक प्रत्यक्ष घरदैलोमा भेटी अनुरोध गर्दै आएको छ । विभिन्न संचारमाध्यमहरुबाट समेत प्रत्येक वर्ष सूचना प्रवाह गरिरहेको छ भने सम्बन्धित विद्युत प्राधिकरणलाई समेत नियन्त्रणको लागि अनुरोध गर्दा समेत पनि सो को प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
विद्युतीय धराप स्वयं किसानले नहटाएसम्म कसैले पनि हटाउने हिम्मत गर्न सकेका छैनन् ।‘ किसानहरुले विद्युतीय तारवार लगाएको देखिरहँदा हटाउन गाह्रो छ ’ डिभिजन वन प्रमुख श्रेष्ठले भने ,‘ विद्युतीय तारवार हटाउनु पर्यो भने हात्तीबाट आफ्नो जनधनको सुरक्षाको जिम्मेवारी लिनुपर्छ भनेर भन्ने गरेका छन् ।’ स्थानीय जनप्रतिनिधि र स्थानीय प्रशासनको सहयोगमा विद्युतीय तारवार हटाउन सकिने डिभिजन वन प्रमुख श्रेष्ठको भनाई छ ।



