झापा,कात्तिक २३ । कोशी प्रदेश सरकारको खोरेतमुक्त प्रदेश बनाउने दीर्घकालीन लक्ष्यअनुरूप विराटनगर महानगरपालिकाले गाई र भैंसीमा निःशुल्क खोप अभियान सुरु गरेको छ।

विराटनगर महानगरपालिकाको आयोजना तथा प्रदेश सरकारको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको सहयोगमा यो अभियान औपचारिक रूपमा प्रारम्भ गरिएको हो।
विराटनगर–१२ स्थित बञ्जरा एग्रो फार्मबाट सुरु गरिएको यो अभियानले विराटनगरलाई खोरेत रोगमुक्त पालिका बनाउने दाबी गरिएको छ। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख डा. अजयकुमार साहका अनुसार विराटनगर महानगरपालिकाभित्र हाल २१ हजार ६ सय गाई र भैंसी छन्। पहिलो चरणमा १६ हजार ६ सय गाई र भैंसीलाई खोरेतविरुद्ध निःशुल्क खोप लगाइनेछ। खोपको तथ्याङ्क डिजिटल प्रणालीबाट अभिलेख राखिने व्यवस्था मिलाइएको छ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, कोशी प्रदेशका निर्देशक डा. सुशीलकुमार अधिकारीले प्रदेशका सबै १३७ वटै पालिकामा यो अभियान सञ्चालन गरिने जानकारी दिए। इलाम जिल्लालाई पहिले नै खोरेतमुक्त घोषणा गरिएको छ भने झापा, मोरङ, सुनसरी र उदयपुरलाई पनि खोरेतमुक्त बनाउने तयारी भइरहेको छ।
डा. अधिकारीले यो अभियानले पशु स्वास्थ्यमा सुधार ल्याउनुका साथै कृषकको आर्थिक सुरक्षा पनि बलियो बनाउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्