झापा, कात्तिक २३ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न प्रहरी सक्रिय भएर लागेको छ ।

आन्दोलनका बेला भएको तोडफोड , आगजनी , लुटपाट , कुटपिटको प्रमाण जुटाएर प्रहरीले धमाधम पक्राउ गर्न थालेको हो। इलाका प्रहरी कार्यालय बिर्तामोड र दमकमा आक्रमण गर्ने १० जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्ने ६जना पक्राउ परेका छन् । प्रहरी कार्यालयमा ढुंगामुढा गर्ने , आगजनी गर्ने , प्रहरीलाई कुट्ने ६ जनालाई पक्राउ गरिएको हो ।
जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्ने थप दुई युवा पक्राउ परेका हुन् ।
शनिवार साँझ बिर्तामोड– ५शनिश्चरे रोडबाट बिर्तामोड– ५बस्ने २० वर्षीय राजन चौधरी र सोही ठाउँ बस्ने १६ वर्षीय आयुष धिमाललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय बिर्तामोडमा कार्यरत प्रहरी हवल्दार मिनबहादुर सुनुवारको निजी मोटरसाइकल तोडफोड गरेका थिए ।
यसअघि शुक्रवार दिउँसो २ बजे बिर्तामोड ५ त्रिवेणी चोकबाट अर्जुनधारा ६ बस्ने २२ वर्षीय पदम राई र उनकी श्रीमती २४ वर्षीया पुजा मगरलाई प्रहरीले पक्राउ गरेको थियो । भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा इप्रका बिर्तामोडको कार्यालय तोडफोड तथा आगजनीमा संलग्न ती दम्पतीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै प्रहरीलाई कुटपिट गर्ने अर्का एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड वडा न.५ बस्ने वर्ष २६ का नवराज राई रहेका छन् । उनलाई कात्तिक २० गते साँझ ६ बजे खोजतलासको क्रममा भक्तपुर प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले भक्तपुर एरियाबाट पक्राउ गर्न सफल भएको हो । भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इप्रका बिर्तामोडमा आक्रमण गरि राईले झापामा कार्यरत प्रहरी हवल्दार बिजय खड्कालाई कुटपिट गरी गम्भीर घाइते बनाइ फरार भएका थिए । राईलाई आवश्यक अनुसन्धानको लागि शुक्रवार इप्रका बिर्तामोडमा ल्याई ज्यान मार्ने उद्योग कसुरमा दर्ता गरी जिल्ला अदालत झापाबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय दमकमा आक्रमण गर्ने चारजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न २१ वर्षीय साजन लुहागुनमाथि आपराधिक उपद्रव कसुरमा अनुसन्धान थालिएको छ ।
आइतवार जिल्ला अदालत झापाबाट आपराधिक उपद्रव कसुरमा ५ दिन म्याद लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पाँचथर मिक्लाजुङ वडा नं. ५ स्थायी ठेगाना भई हाल दमक नगरपालिका वडा नं. १ बस्ने लुहागुनलाई हिजो दिउँसो २ बजे दमक वडा नं. ५ बाट पक्राउ गरिएको थियो ।
भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकको कार्यालयमा तोडफोड,आगजनी, लुटपाट गर्ने कार्यमा उनको संलग्नता रहेको पाइएको छ ।
उनले आफ्नो टिकटकमा इलाका प्रहरी कार्यालयमा आगो लगाउँदै गरेको, गोली बोकेको भिडियो तथा फोटोहरु हालेका थिए । त्यसकै आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अहिलेसम्म १० जनालाई पक्राउ गरिएको र अन्यको पहिचान गर्ने कार्य भइरहेको जनाइएको छ । प्रहरी कार्यालयहरुमा आक्रमण गर्नेहरुको भिडियो र फोटोको आधारमा पहिचान गर्ने कार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ । जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनी गर्नेहरुमाथि पचासभन्दा बढी उजुरी परेको छ । ती उजुरीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



