झापा, कात्तिक २४ । जेनजी आन्दोलनका क्रममा कन्काई नगरपालिकाको भौतिक सम्पत्ति तोडफोड र आगजनी गरेको आरोपमा कन्काई नगरपालिका –३ का बिष्णु बराइली पक्राउ परेका छन् ।

उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनकै नेतृत्वमा कन्काई नगरपालिकाको भौतिक सम्पत्ति, सवारी साधन र अन्य भौतिक सामग्री तोडफोड गरिएको आरोप लागेको छ ।
उनीसँगै जेनजी आन्दोलनमा कन्काई नगरपालिका र नगरभित्रका व्यक्तिहरुको निजी सम्पत्ति तोडफोड र आगजनी गर्ने व्यक्तिहरुको पहिचान भइरहेको प्रहरीले जनाएको छ ।
कन्काईमा वडा नं–१ स्थित कन्काई नगरपालिकाको कार्यालय भवन तोडफोड र आगजनी ,कन्काई –१ र ७ स्थित नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको २ वटा घरमा तोडफोड, आगजनी र लुटपाट ,कन्काई –३ स्थित नगर उपप्रमुख आशाकुमारी शिवाकोटीको घर तोडफोड , कन्काई –३ का वडाध्यक्ष युवराज चौलागाईंको घर तोडफोड ,कन्काई –३ स्थित इलाका प्रहरी कार्यालय, सुरुङ्गाको भवन तोडफोड र सवारी साधनहरुमा आगजनी , कन्काई –१, २, ३, ४, ५, ६, ७, ८ र ९ वडा कार्यालयहरुमा तोडफोड र आगजनी ,कन्काई –३ स्थित नेपाली कांग्रेसका झापा जिल्ला सभापति देउकुमार थेवेको घर तोडफोड र सामानहरु घर बाहिर ल्याएर आगजनी गरिएको थियो ।
यसरी सरकारी सम्पत्तिमा तोडफोड गर्ने धेरै व्यक्तिको पहिचान भएको र उनीहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।



