झापा, कात्तिक २६ । नेपालले भारतमा जारी दृष्टिबिहीन महिला टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ ।

नेपालले बुधबार भएको आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई नौ विकेटले हरायो । जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपालले ५.२ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
नेपालका लागि ओपनर मनकेसी चौधरीले सर्वाधिक अविजित ६१ रन बनाइन् । उनले २२ बलमा ११ चौकाको सहयोगमा उक्त रन बनाएकी हुन् । यस्तै बिनिता पुनले १३ र सुस्मा तामाङले अविजित चार रन जोडिन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ८७ रन बनाएको थियो । श्रीलङ्काको लागि मिहिरानी दुलान्जलीले सर्वाधिक २३ रन बनाइन् । यस्तै सान्दुनी सौमाया १३ रन बनाउनबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङमा नेपालकी कान्ती योगीले तीन विकेट लिइन् । बिनिता पुन र लक्ष्मी लामाले एक एक विकेट झारे । नेपालकी मनकेसी चौधरी प्लेयर अफ दि म्याच भए । नेपालले दोस्रो खेल शुक्रबार भारतसँग खेल्नेछ ।
विश्वकपमा नेपालसहित भारत, श्रीलङ्का, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका, इङल्यान्डले प्रतिस्पर्धा गरिरहेका छन् । दृष्टिविहीन महिला टी–२० विश्वकप पहिलो पटक आयोजना भएको हो ।



