झापा, कात्तिक २६ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी अध्यापन गराउँदै आएका दमकका एकजना शिक्षकविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दमक नगरपालिका–५ स्थित श्री दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलाविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
शिक्षक निरौलाले श्री दीपिनी आधारभूत विद्यालयको प्रावि तह तृतीय श्रेणीको शिक्षकको रुपमा नियुक्ति लिनका लागि भारतको बिहार संस्कृत शिक्षा बोर्ड पटनाबाट मध्यमा परीक्षा उत्तीर्ण गरेको नक्कली तथा झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको अख्तियारको दावी छ।

शिक्षक निरौलाले भारतबाट फर्जी शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सोही विद्यालयमा प्राथमिक तहमा अध्यापन गराउँदै आएकोले उनको सम्पूर्ण शैक्षिक योग्यताका प्रमाणपत्रहरुको अनुसन्धान गरी कारबाही गरी पाउँ भन्ने उजुरी अख्तियारमा परेको थियो । त्यस सम्बन्धमा अनुसन्धान हुँदा शिक्षक निरौला २०५५ सालमा श्री दीपिनी आधारभूत विद्यालयको प्रा.वि.तहको शिक्षकको लागि अस्थायी नियुक्ति भई कार्यरत रहेका थिए । उनले २०७५ चैत २८ गते स्थायी नियुक्ति लिई सोही विद्यालयमा प्रा.वि. तह तृतीय श्रेणीको शिक्षकको रुपमा हालसम्म कार्यरत रहेको देखिएको छ ।

नक्कली तथा झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षकको तलब, भत्तासहितको ओहोदा, लाभ तथा सरकारी सेवा सुबिधासमेत प्राप्त गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम परिभाषित कसूर गरेको हुँदा निजलाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्