झापा,कात्तिक २८ । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकालाई चार प्रकारमा वर्गीकरण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले प्रदर्शनका क्रममा घाइते भएकाको वर्गीकरण गर्न गठित प्राविधिक समितिले घाइतेलाई चार प्रकारमा विभाजन गरेको जानकारी दिए ।
उनका अनुसार अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी चार वर्गमा विभाजन गरिएको छ । सरकारले मन्त्रालयका गुणस्तर, मापन तथा नियमन विभागका प्रमुख डा.सरोज शर्माको संयोजकत्वमा १० सदस्यीय प्राविधिक समिति गठन गरेको थियो ।
घाइतेमध्ये चोटपटकका आधारमा वर्गीकरण गरिएको छ । जसमा अति गम्भीरलाई २३, गम्भीरलाई २१, मध्यम घाइतेलाई २३ र सामान्य घाइतेलाई ११ प्रकारका चोटपटक लागेका आधारमा छुट्टाइएको मन्त्रालयले जनाएको छ ।

वर्गीकरणअनुसार घाइतेलाई परिचयपत्र उपलब्ध गराइने छ । सरकारले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरणको काम सक्न निर्देशन दिइसकेको छ ।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा दुई हजार ५७२ जना घाइते भएको मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए । तीमध्ये ११ जनाको अस्पतालमा उपचाररत छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्