झापा,कात्तिक ३० । देशको अर्थतन्त्रलाई टेवा दिने प्रमुख आधार विप्रेषण (रेमिट्यान्स) आप्रवाह चालू आर्थिक वर्ष २०८२-८३ को पहिलो ३ महिनामा (असोज महिनासम्म) उच्च वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ५३ अर्ब ३१ करोड पुगेको हो ।
यो वृद्धिदर अघिल्लो आर्थिक वर्ष २०८१-८२ को सोही अवधिको भन्दा ३५.४ प्रतिशतले बढी हो । गत आवको पहिलो तीन महिनामा ४ खर्ब ७ अर्ब ३१ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सङ्ख्या बढ्दै गएपछि उनीहरूले पठाउने रेमिट्यान्स पनि बढ्दै गएको छ ।
तथ्याङ्क अनुसार असोज महिनामा मात्रै २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । मासिक रुपमा यो हालसम्मकै उच्च हो । गत वर्षको असोज महिनामा १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो ।
नेपाली मुद्रामा भएको उच्च वृद्धिसँगै अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह उत्साहजनक देखिएको छ । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा डलरमा यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो ।
विप्रेषण आप्रवाहमा भएको यो विशाल वृद्धिको प्रमुख कारण वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्यामा भएको उल्लेखनीय वृद्धि हो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको सङ्ख्या १,२३,४५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो सङ्ख्या १,१०,६५४ रहेको थियो ।
त्यसैगरी पुनः श्रम स्वीकृति लिनेको संख्या पनि ह्वात्तै बढेको छ । यस अवधिमा ७७, २५७ जनाले पुनः श्रम स्वीकृति लिएका छन्, जबकि अघिल्लो वर्ष ५९,९३९ जनाले मात्रै नवीकरण गरेका थिए ।




