
झापा, कात्तिक ३० । बिर्तामोड नगरपालिकाको अरु वडामा नेपाली कांग्रेसले हार्दै गर्दा १० नं वडाले स्थानीय तहको निर्वाचनमा दुईपटक पार्टीको इज्जत जोगाइदिएको थियो । कांग्रेसका तर्फबाट दुर्योधन गुरुङलाई बिर्तामोड १० मा लगातार दुईपटक वडाध्यक्षमा जिताउन कांग्रेसका वडा सभापति मदन गुरुङले दह्रो गरी काँध हालेका थिए । कांग्रेसका तिनै कर्मठ सिपाही आज रुँदै पार्टी परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
कांग्रेसका वडा सभापति गुरूङसहित एक दर्जन बढी कार्यकर्ता राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा पार्टी प्रवेश गरेका हुन्। राप्रपा प्रवेश गर्नेहरुमा कांग्रेसका क्षेत्रीय सदस्य छविराम आचार्य , क्रियाशील सदस्यहरू भोलानाथ भट्टराई, पुकार अर्याल, हरि उप्रेती, भिम थापा,कुमार गुरूङ लगायत छन्। राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको निवास हल्दीबारी १ मा आज बिहानै कांग्रेस र एमालेका कार्यकर्ता पार्टी परित्याग गरी राप्रपामा गएका हुन् ।
पार्टी परित्याग गरेका गुरुङले १० वर्ष कांग्रेसको वडा सभापति चलाएका थिए । बाबु बाजेदेखि नै गुरुङ परिवारले कांग्रेसको राजनीति गर्दै आएका थिए । आखिर किन उनीहरुले कांग्रेस छोड्नु पर्यो त ?
पार्टी परित्याग गर्नेहरुको एउटै पीडा छ –नेताहरुको दबदबा सहन नसकेर पार्टी छोड्न बाध्य बन्यौं । वर्षौदेखि काम गरेको पार्टी छोड्नु पर्दा गुरुङको मन निकै दुखेको छ । ‘रुँदै रुँदै आँशु झार्दै मैले कांग्रेस छोडे’ उनले भने,‘ आफ्नो कथा र व्यथा कसलाई सुनाउनु ?’ आफू २०७४ सालदेखि पार्टीभित्र अपहेलित भएको उनले गुनासो सुनाए ।
चाकडीवाज र झोले राजनीतिबाट कांग्रेस जकडिएको कार्यकर्ताहरुको गुनासो छ । झापा क्षेत्र नं ३ मा पर्ने बिर्तामोड १० मा कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको एकलौटी प्रभाव रहेको छ । उनको आशीर्वाद विना कार्यकर्ता टिक्न गाह्रो पर्ने बताइन्छ । कांग्रेसका अरु पनि असन्तुष्ट कार्यकर्ताहरुले पार्टी परित्याग गर्न लागेको जनाइएको छ । पार्टी परित्याग गर्ने मदन गुरुङ वडाध्यक्ष दुर्योधन गुरुङका भाइ हुन् ।




