झापा, मंसिर १ । मानवताविरुद्धको अपराध गरेको भन्दै बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई त्यहाँको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।

गत वर्ष जुलाई–अगस्टमा भएको आन्दोलन दबाउन उनले मानवताविरुद्धको अपराध गरेको भन्दै त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।
बंगलादेशी मिडिया द डेली स्टारका अनुसार त्यहाँको अन्तर्राष्ट्रिय अपराध अदालतको तीन सदस्यीय इजलासले सोमबार हसिनाविरुद्ध यस्तो आदेश गरेको हो । भारतमा निर्वासनमा रहेकै बेला हसिनाको उपस्थितिबिनै अदालतले मुद्दा चलाएको हो ।
४५३ पृष्ठको फैसला पढ्नुअघि न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजूमदारले ६ भागमा फैसला सुनाइने बताएका थिए । फैसलाको घोषणा बंगलादेशी टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।



