झापा,मंसिर २ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा आगमन र प्रस्थानतर्फ यात्रुका कागजात जाँच गर्न ४५ डेस्क छन् ।

तर, कर्मचारी अभाव देखाएर अहिले दुवैतर्फका डेढ दर्जन डेस्क खाली छन् ।
जसका कारण दैनिक हजारौं यात्रु ओहोरदोहोर गर्ने विमानस्थल अध्यागमनमा चाप बढेको छ । पछिल्लो समय भिजिट भिसामा जाने यात्रुका लागि नयाँ मापदण्ड जारी भएपछि कर्मचारी विमानस्थल अध्यागमनमा जानै नचाहेको गृह मन्त्रालयको दाबी छ ।
अध्यागमन विभागका अनुसार प्रस्थानतर्फ २३ र आगमनतर्फ २२ डेस्क छन् । दिनमा तीन सिफ्टमा काम हुने गरेको छ । यसका लागि हरेक सिफ्टमा ८÷८ घण्टाको पालोमा कर्मचारी खटिने गरेका छन् । आवागमन जाँच सहज बनाउन बनाइएका संरचनालाई पूर्ण क्षमतामा चलाउन तीन सिफ्टमा १ सय ३५ अधिकृत खटाउनुपर्छ ।
सोमबारसम्मको अभिलेखअनुसार डेस्कमा खटिने अधिकृत १ सय ११ जना मात्रै छन् । भिजिट भिसा मापदण्ड संशोधनको भोलिपल्ट १४ कात्तिकसम्म १ सय २१ जना अध्यागमन अधिकृत विमानस्थल डेस्कमा कार्यरत थिए ।
जनशक्ति नहुँदा डेस्क खाली भएको विभागका महानिर्देशक रामचन्द्र तिवारीको दाबी छ । कर्मचारी बढाउन विभागले संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षण अघि बढाएको छ । ओएण्डएम गरेर विमानस्थल अध्यागमनमा अधिकृतको दरबन्दी बढाउने पहल भइरहेको र त्यसपछि पूर्ण क्षमतामा डेस्कलाई सञ्चालन गरिने उनको भनाइ छ ।
विमानस्थलबाट दैनिक आवागमन गर्ने यात्रुको संख्या सरदर १९ हजारभन्दा बढी छ । २३ देखि २८ कात्तिकसम्म नेपाल भित्रिने र बाहिरिने यात्रुको संख्या १ लाख १२ हजार ९ सय ३५ जना देखिन्छ । यसमध्ये ९८ प्रतिशत यात्रु त्रिभुवन विमानस्थलबाट आवागमन गर्ने गरेको विभागका अधिकारी बताउँछन् । तर, यात्रु आवागमन चापलाई सहज, व्यवस्थित र छरितो बनाउन कागजात जाँच गर्ने विमानस्थलका अध्यागमन डेस्क पूर्ण सञ्चालनमा ल्याइएको छैन ।
विगतमा भिजिट भिसाको आवरणमा असुली धन्दा चलाउने संगठित गिरोहले नै एयरलाइन्स, अध्यागमनका कर्मचारी, प्रहरी, शैक्षिक परामर्श केन्द्र, ट्राभल एजेन्सी, म्यानपावर व्यवसायीको सेटिङमा योजनाबद्ध रूपमा अध्यागमन डेस्क पूर्ण सञ्चालनमा ल्याउन अवरोध पु¥याएको आरोप लागेको थियो । त्यसपछि केही कर्मचारीलाई काजमा खटाएर पनि बन्द डेस्क खुलाउने प्रयास भएका थिए । तर, अहिले काजमा रहेका कर्मचारी फिर्ता भइसकेका र भिजिट भिसासम्बन्धी विगतका कठोर प्रावधान संशोधन गरी खुकुलो बनाएपछि भएका कर्मचारी पनि धमाधम सरुवा भएर बाहिरिन थालेकाले पनि डेस्क सञ्चालनमा कठिनाइ भएको विभागले जनाएको छ ।
विगतमा विमानस्थल अध्यागमन जान कर्मचारीहरूले सोर्सफोर्स लगाउने गरेका थिए । गिरोहको सेटिङमा विदेश जाने यात्रुबाट रकम असुल्ने र त्यसको निश्चित हिस्सा कर्मचारीसम्म पुग्ने भएपछि अध्यागमन कर्मचारीका लागि आकर्षक मानिन्थ्यो । पछिल्लो पटक सरकारले भिजिट भिसासम्बन्धी मापदण्डमा खुकुलो बनाउनुका साथै कर्मचारीका गतिविधि पनि अनुसन्धान गर्ने निकायको राडारमा पर्न थालेपछि सरुवा माग्नेको संख्या बढेको हो ।

अध्यागमन विभागका अनुसार विमानस्थलमा कार्यरत २३ जना कर्मचारी एक वर्ष नपुग्दै सरुवा भएर गृह मन्त्रालय गएका छन् । सरुवा भएकामध्ये केहीको रमाना हुन बाँकी रहेको र अधिकांश सरुवा भएको स्थान गइसकेको विभागका महानिर्देशक तिवारीको भनाइ छ । २८ फागुन २०८१ मा विमानस्थल गएका वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेको हालै गृह मन्त्रालयमा सरुवा भइसकेको छ । यद्यपि उनको रमाना हुन बाँकी छ । अर्का वरिष्ठ अध्यागमन अधिकृत ईश्वरदत्त पनेरुको पनि गृहमै सरुवा भइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्