झापा,मंसिर २ । नेपाल प्रिमियर लिग (एनपीएल) को आयोजक नेपाल क्रिकेट संघ (क्यान) सँग त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याणकारी कोष र केन्द्रीय क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले २५ लाख रुपैयाँ चन्दा लिने सम्झौता गरेको खुलेको छ ।

विभिन्न राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठन, तीनका नेता र स्ववियुको दबाबमा त्रिवि कार्यकारी परिषद्लगायत आधिकारिक निकायहरूलाई जानकारी नै नदिई उक्त सम्झौता भएको हो । विद्यार्थी कल्याण प्रमुख उपप्राध्यापक दीपेन्द्र पराजुलीले खेल आयोजना हुँदा हुने शैक्षिक क्षतिलाई न्यूनीकरण गर्न सम्झौता गरिएको बताए । त्रिविको जग्गा संघले वार्षिक ९ लाख भाडामा लिएर खेल आयोजना गर्दै आएको छ । सम्झौता भएको २५ लाख वार्षिक भाडा ९ लाखभन्दा अतिरिक्त रकम हो ।
क्रिकेट प्रतियोगिता आयोजना गर्दा विश्वविद्यालयमा पर्न जाने असरलाई मध्यनजर गर्दै संघले एनपीएलबाट प्राप्त हुने नाफाको १५ लाख रुपैयाँ विद्यार्थी कल्याणकारी कोषमा जम्मा गर्ने सम्झौताको पहिलो बुँदामा उल्लेख छ । रंगशाला वरिपरिको असर न्यूनीकरण गर्न, वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापन तथा प्राकृतिक पुनर्जागरणका लागि कुल नाफाको १० लाख स्ववियु कोषमा जम्मा गर्ने दोस्रो बुँदामा उल्लेख छ । सम्झौतामा निर्देशनालयका प्रमुख पराजुली, स्ववियु अध्यक्ष दीपकराज जोशीले त्रिविका तर्फबाट हस्ताक्षर गरेका छन् भने क्यानका तर्फबाट सचिव पारस खड्का र केन्द्रीय सदस्य श्रीधर केसीले हस्ताक्षर गरेका छन् ।
केन्द्रीय क्याम्पसका प्रोक्टर गणेश अधिकारी, स्ववियु उपाध्यक्ष सनम वली, सचिव हिक्मतकुमार बुढा, अनेरास्ववियु अध्यक्ष बालकृष्ण वली, विद्यार्थी नेताहरू गणेश भण्डारी र सिकेन्द्र रोकायले साक्षीका रूपमा सम्झौतामा हस्ताक्षर गरेका छन् । एनपीएल सकिएको ३ महिनाभित्र २५ लाख रुपैयाँ उपलब्ध गराइसक्ने भनिएको छ । विश्वविद्यालयको जग्गा प्रयोग गरेबापत विद्यार्थी युनियनले सम्झौता गरी रकम लेनदेन गर्नु गैरकानुनी भएको भन्दै प्राध्यापकले आपत्ति जनाएका छन् ।
विश्वविद्यालयको जग्गा भाडामा लगाएको विषयमा विद्यार्थी हकहितका लागि काम गर्ने स्ववियुले रकम लेनदेन गर्नु अनुचित भएको पूर्वस्ववियु सचिव सिद्धान्त भट्टले बताए । निर्देशनालय रेक्टर कार्यालय मातहतको निकाय हो तर रेक्टर खड्ग केसीले सम्झौताको विषयमा जानकारी नभएको प्रतिक्रिया दिए । पदाधिकारी तहमा पनि सम्झौता गर्ने र रकम लिने विषयमा कुराकानी नभएको उनको भनाइ छ । सम्झौता भएपछि मात्रै जानकारी पाएको केसीको भनाइ छ ।



