झापा,मंसिर २ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका क्षेत्रमा रहेको फुङ्फुङ्गे झरना पर्यटकको रोजाइमा पर्दै गएको छ ।

पछिल्लो समयका यातायातको सहज पहुँच पुग्न थालेसँगै पर्यटकहरूको गतिविधि बढ्न थालेको हो ।
पहाराको कापबाट झर्ने पानीको छाँगाले जोकोहीलाई मोहित पार्छ । झरना हेर्नका लागि देशका विभिन्न क्षेत्रबाट मानिस आउन थालेका स्थानीय तथा घरवास (होमस्टे) सञ्चालक विजय लिम्बूले बताए । उनका अनुसार फुङ्फुङ्गे झरनालाई प्रचारप्रसार गर्नका लागि मिक्वाखोला गाउँपालिकासँग सहकार्यमा गत वर्षदेखि फुङ्फुङ्गे झरना महत्सवको आयोजना गर्दै आएको छ । आगामी दिनमा झरनाको अझ प्रभावकारी प्रचारप्रसार गर्नका लागि विभिन्न सामाजिक सञ्जालमार्फत भिडियो, फोटो प्रतियोगितासमेत गर्ने योजना रहेको छ ।
यतिबेला स्वच्छ, सफा र आकर्षक झरनाले पर्यटकलाई आकर्षित गराएको छ । पछिल्लो समय प्रचार–प्रसारसँगै फेसबुक, टिकटक, युट्युवजस्ता सामाजिक सञ्जालमा फुङ्फुङ्गे झरनासम्बन्धी तस्बिर तथा भिडियो पोष्ट हुन थालेपछि पर्यटक अझ आकर्षित भएका छन् ।
सरकारले १०० पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको फुङ्फुङ्गे झरनालाई जिल्लाको एक प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न निरन्तर पहल भइरहेका छन् । सङ्घ प्रदेश र स्थानीय सरकारले पर्यटन प्रवद्र्धनको योजनाअन्तर्गत विभिन्न संरचनासमेत निर्माणले पर्यटकको थप आकर्षण बढ्दै गएको झरनामा भ्रमण गर्न आनुभएका सिरिजङ्घा गाउँपालिका कुमार माबोले जानकारी दिए ।
झरनाको सौन्दर्यीकरणका रूपमा पदमार्गको स्तरोन्नति, विश्रामलय निर्माणजस्ता क्रियाकलापले पर्यटकको उपस्थितिका लागि सहयोग पुगेको छ । अझ सडक मार्गमार्फत नै सदरमुकाम फुङ्लिङदेखि फुङ्फुङ्गे झरनास्थलसम्म पर्यटकको यात्रा सहज भएको छ । सङ्घीय सरकारबाट झरनाको सौन्दर्यीकरण योजनामा रु एक करोड बजेटसमेत खर्च भएको छ ।

झरनाबाट झरेको पानीको बाफमा नुवाउनेस्थल बनाएमा अझ राम्रो हुने आन्तरिक पर्यटक तथा सिरिजङ्घा गाउँपालिकाका स्थानीय खेलप्रसाद बुढाक्षेत्री (पराग)को भनाइ छ । यस क्षेत्रमा भ्रमण गर्न आउने पर्यटकलाई स्थानीय उत्पादनका परिकारको स्वाद दिन सकेमा स्थानीय उत्पादनको बजारीकरणसँगै स्थानीयवासीले राम्रो आम्दानी लिनसक्ने बुढाक्षेत्रीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्