झापा, मंसिर ४ । बिर्तामोडका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीसहित तीनजनालाई नेकपा एमालेले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।


नेकपा एमाले कोशी प्रदेश कमिटीको बैठकले कोशी प्रदेश कमिटीका सल्लाहकार ध्रुवकुमार शिवाकोटीसहित इटहरी उपमहानगरपालिकाका पूर्वमेयर तथा प्रदेश कमिटी सदस्य द्वारिकालाल चौधरी र कोशी प्रदेश कमिटीका सल्लाहकार मनोरथ तिवारी पार्टीबाट निष्कासन गरेको हो । त्यस्तै २ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

नेकपा एमाले कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारीले ती तीनजनालाई पार्र्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय भएको बताए । साधारण सदस्यबाट समेत निष्कासनमा परेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर शिवाकोटीमाथि आफ्नै घरमा काम गर्न राखिएकी नाबालिकामाथि बलात्कार गरेको आरोप लागेको छ । सो अभियोगमा उनी केही महिनाअघि धरौटीमा रिहा भएका छन् ।
उनको मुद्दा अदालतमा विचाराधिन रहेको छ । उनी प्रहरी हिरासतमा नबसी बीएण्डसी अस्पतालमा बसेको र त्यसमा पार्टीले संरक्षण गरेको आरोप समेत लाग्दै आएको छ ।

शिवाकोटी विर्तामोड नगरपालिकामा र द्वारिकालाल चौधरी इटहरी उपमहानगरपालिकामा एमालेबाट २०७४ को निर्वाचनमा मेयरमा निर्वाचित भएका थिए ।

२०७९ को निर्वाचनमा पनि मेयर दोहोर्‍याउने चाहना राखेका चौधरीलाई पार्टीले टिकट नदिएपछि माओवादीमा प्रवेश गरेका थिए । उनी माओवादीमा प्रवेश गरेर सुनसरी क्षेत्र नम्बर २(१) बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवार भएका थिए । उनी एमालेका रेवतीरमण भण्डारीसँग पराजित भए । निर्वाचनमा पराजित भएसँगै एमालेमा फर्किएका चौधरी पार्टी गतिविधिमा भने सामेल हुन सकेका थिएनन् ।उनले पार्टीका स्थानीय नेताहरूको आलोचना गर्दै आएका थिए ।

साधारण सदस्यबाट निष्कासनमा परेका मनोरथ तिवारी भने भदौ २४ गते भएको आगजनी तोडफोड र लुटपाटमा संलग्न रहेको पार्टी सचिव भण्डारीले बताए ।

यस्तै प्रदेश कमिटीको इटहरीका काशीनाथ दंगाल र डा. बद्री विशाल पोख्रेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । दंगाल यसअघि नेकपा कालमा एमाले इटहरी नगर कमिटीका सचिव थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्