झापा, मंसिर ४ । बचत तथा ऋण सहकारी संघ लि. झापामा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन भएसंगै चुनावी सरगर्मी शुरु भएको छ । एक अध्यक्ष पदका लागि आधा दर्जन आकांक्षी प्रतिष्पर्धामा उत्रिने भएपछि निर्वाचन प्रक्रिया सर्वसम्मत नहुने देखिएको हो ।


वर्तमान अध्यक्ष तुलाराम न्यौपाने आफ्‌नो कार्यकाल दोहोर्‍याउने योजनामा छन् भने उनले दावी गरेको अध्यक्ष पदकै लागि अन्य पाँचजना आकांक्षी देखिएका छन् । वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओली , उपाध्यक्ष तथा प्रदेश संघका कोषाध्यक्ष विश्वेश्वरप्रसाद भट्टराई , महिला उपाध्यक्ष तथा प्रदेश संघका वरिष्ठ उपाध्यक्ष चन्द्राकुमारी खड्का , सचिव यामकुमार चुडाल र पतालगंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष युवराज गिरीले अध्यक्ष पदमा उम्मेद्वारी दिने आकांक्षा राखेको बुझिएको छ ।


बचत तथा ऋण सहकारी संघ झापाको १४ औं वार्षिक साधारण सभा हिजो दुर्गापुरमा सम्पन्न भएको छ । साधारण सभाले वर्तमान समितिलाई विघटन गर्दै देवेन्द्र भण्डारीको संयोजकत्वमा चुडामणि ओझा र अनिता गौतम सदस्य रहेको निर्वाचन समिति गठन गरेको छ । सो निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गर्ने छ । निर्वाचन समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छैन । बचत तथा ऋण सहकारी संघ झापामा बचत तथा ऋणको कारोवार गर्ने १८६ वटा सहकारी संस्था आवद्ध रहेका छन् ।


साधारण सभामा बोल्ने वक्ताहरुले केही सहकारीहरुले नजानेर र केही सहकारीहरुले नियतवश खराब काम गर्दा सबै सहकारीहरुलाई गलत भन्न नमिल्ने बताएका छन् । उनीहरुले पारदर्शी र मितव्ययी भएर सहकारीविरुद्ध फैलाइएको भ्रम तोड्न सबै सहकारीहरु एक भएर लाग्नुपर्ने धारणा राखेका थिए । जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष दुर्गा सापकोटा , लेखा सुपरीवेक्षण समितिका संयोजक चुडामणि ओझा , सदस्य राजेन्द्र रिजालले शुभकामना मन्तव्य राखेका थिए ।

अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओली र संचालन यामकुमार चुडालले गरेका थिए । कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने दुईवटा सहकारी संस्थाका संचालकलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा भीमसेन बचत तथा ऋण सहकारी संस्था कनकाई ३ र कलश बचत तथा ऋण सहकारी संस्था दमक ६ रहेको बचत तथा ऋण सहकारी संघ झापाकी व्यवस्थापक कोपिला बजगाईले जानकारी दिएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्