झापा, मंसिर ४ । दुर्गा प्रसाईको रिहाईको माग गर्दै आज साँझ बिर्तामोडमा मसाल जुलुस निकालिएको छ ।

राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानले मसाल जुलुस निकालेको हो । बिर्तामोड १ स्थित राजगढ स्टेन्ड अगाडी अभियानका झापा जिल्ला संयोजक राजेश राजवंशीको नेतृत्वमा दुर्गाका समर्थकहरुले मसाल जुलुस निकाल्दै ‘दुर्गा प्रसाईलाई रिहा गर, अन्तरिम सरकार मुर्दावाद ,कठपुतली सरकार मुर्दावाद ,वित्तीय श्रम शोषण बन्द गर ,गृहमन्त्री राजीनामा दे ,भ्रष्टाचारी मुर्दावाद,दुर्गा प्रसाई जिन्दावाद ’ जस्ता नारा लगाएका थिए । जुलुस मुक्तिचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै जिल्ला सचिव उमाकान्त अधिकारीले २४ घण्टाभित्र केन्द्रीय संयोजक दुर्गा प्रसाईलाई सकुशल र बिनाशर्त रिहाई गर्नुपर्ने माग गरे । यदि रिहाई नगरे आन्दोलन झन् सशक्त बनाएर लैजाने र उक्त आन्दोलनबाट हुन सक्ने घटनाको जिम्मेवारी स्वयम् सरकार हुनु पर्ने चेतावनी दिएका छन् । भोली जिल्ला प्रशासन कार्यालयमा आन्दोलनबारे जानकारी दिने र कार्यक्रम तालिका बुझाउने कार्यक्रम रहेको जानकारी गराइएको थियो ।




