झापा, मंसिर ५ । जेनजी आन्दोलनका क्रममा झापामा प्रहरीबाट लुटिएका २० थान हतियार ,९३३२ राउण्ड गोली र १०९ सेल अश्रुग्यास अझै गायव नै रहेको छ ।

जम्मा २४ थान हतियार लुटेकोमा ४ थान हतियार मात्र भेटिएको छ । अरु हतियार कहाँ छ प्रहरीलाई थाहा छैन । सानो हतियार– ५ थान , लामो हतियार(एसएलआरलगायत) –११ थान र शर्टगन/ ग्यासगन ४ थान फिर्ता नभएको प्रहरी स्रोतले जनाएको छ । त्यस्तै ९३३२ राउण्ड गोली र १०९ सेल अश्रुग्यास पनि गायव नै रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
करिव अढाई महिना बितिसक्दासमेत लुटिएका हतियार फेला नपर्दा सुरक्षा चुनौती देखिएको छ । जेनजी आन्दोलनमा प्रहरी कार्यालयहरुमा तोडफोड , आगजनी र लुटपाट गर्नेहरुको पहिचान गर्दै प्रहरीले धरपकडलाई तीब्रता दिएको छ । अहिलेसम्म ३० जनालाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । उनीहरुको बयानकै आधारमा र खोजतलासका क्रममा लुटिएका हतियार फेला पार्ने क्रम जारी रहेको जनाइएको छ ।




