झापा, मंसिर ५ । नेकपा एमालेले घोषणा गरेको ‘युथ भोलेन्टियर फोर्स’का केन्द्रीय कमान्डका प्रमुख पुष्पराज श्रेष्ठ फौजदारी मुद्दाका पटके अभियुक्त भएको खुलेको छ ।

नेपाल प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) मा उल्लेख भए अनुसार, २०६५ देखि २०७५ सम्म उनीविरुद्ध ७ वटा मुद्दा दर्ता भएको छ ।
पछिल्लो पटक २०७५ भदौमा अपहरण तथा शरीर बन्धकमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार, सिन्धुलीको कमलामाई–५ घर भइ रातोपुल बस्दै आएका रामबहादुर कटुवालले आफूलाई धम्की दिएको भन्दै उजुरी दिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।
उनीमाथि ४ पुस २०७३ मा गणेशकुमार कुँवरलाई बन्धक बनाएर रकम लुटपाट गरेको अभियोगमासमेत अनुसन्धान भएको थियो । उनलाई डेरामा लगेर जबरजस्ती ११ लाख रुपैयाँ बराबरको चेकसमेत काट्न लगाएको पाइएको थियो । त्यसबेला उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।
त्यसबेला उनी माओवादी निकट योङ कम्युनिस्ट लिग (वाईसीएल) को सिन्धुली जिल्ला अध्यक्ष थिए । पछि माओवादी र नेकपा एमाले मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेयता उनी एमालेमै रहे ।
प्रहरीका अनुसार, २०६३ र ०६४ सालमा पनि उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो । २०६७ सालमा उनीविरुद्ध सार्वजनिक अपराध ऐनअन्तरगतको कसुरमा मुद्दा चलेको थियो । त्यसबेला उनीमाथि सिन्धुलीका राजन घिसिङलाई कुटपिट गरेको आरोप थियो । २०७० सालमा अपहरण तथा शरीर बन्धकको कसुरमा उनी पक्राउ परेका थिए भने २०७६ मा उनी ज्यान मार्ने उद्योगमा पक्राउ परेका थिए ।




