झापा, मंसिर ५ । इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज प्रहरी निरीक्षक सुभाष केसी सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।


कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय झिलझिलेमा कार्यरत प्रहरी निरीक्षक केसीलाई कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी (बेस्ट पुलिस अफ द मन्थ ) घोषित गरेको हो। प्रहरी निरीक्षक केसीले शिवसताक्षी नगरपालिका–१० माइधारका ३३ बर्षीय सरोज शर्मालाई अपहरणपछि हत्या गरेको घटनालाई सफल अनुसन्धान गरी दोषीलाई कार्वाही गर्न खेलेको भूमिकाको मूल्यांकन गरिएको हो ।

कात्तिक ९ गते अर्जुनधारा नगरपालिका–४ स्थित दहिझोडा सामुदायिक वनमा शर्मालाई अपहरण शरीर बन्धक ज्यान सम्बन्धी कसुरमा अनुसन्धानको क्रममा शंकित ब्यक्तिहरुको पहिचान तथा निगरानी गरी कात्तिक १३ गते मेचीनगर नगरपालिका–१३ स्थित हातेमालो सामुदायिक वनमा मृतक सरोज शर्माले प्रयोग गरेको गाडी जलाएको अवस्थामा फेला पारी घटनाको सुक्ष्म अध्ययनको क्रममा शंकित व्यक्तिहरू पक्राउ गर्न सफल भएका थिए ।

त्यस्तै मृतकको लाश गाडेको स्थान पहिचान गरेर उक्त स्थानमा उत्खनन गरी लाश फेला पारी अनुसन्धानलाई थप प्रमाणमुखी बनाउन सफल भएका केसीले उक्त घटनालाई लिएर पीडित र स्थानीय ब्यक्तिहरुले प्रतिवादीहरुको घर तथा सम्पत्तिमा तोडफोड तथा आगजनी गर्ने प्रयास गर्दा आफ्नो कमाण्डमा टोली परिचालन गरी आक्रोशित भीडलाई नियन्त्रण गरी अप्रिय घटना हुन नदिई धन–जनको क्षतिबाट बचाउनुका साथै पीडित तथा प्रतिवादी दुबैका परिवार समेतलाई सकुशल उद्धार गरी समाजमा शान्ति सुरक्षा कायम राख्न अहम् भूमिका निर्वाह गरेका थिए ।

प्रहरी निरीक्षक केसीबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै उनलाई कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्