झापा, मंसिर ६ । करेन्ट लगाएर माछा मार्दा झापाको गौरादहमा एकजनाको मृत्यु भएको छ ।

आज दिउँसो १२ः२० बजे गौरादह वडा नं ६ र गौरीगंज वडा नं ६ को सिमाना पर्ने रामचन्द्रे खोलामा गौरादह ६ आरतिनगर बस्ने ५० वर्षीय रामकुमार ताजपुरिया करेन्ट लगाएर माछा मार्न गएका थिए ।
आफ्नो घरदेखि २०० मिटर उत्तर पश्चिम रामचन्द्रे खोलामा घरको २२० भोल्ट लाइनको तार जोडी माछा मार्ने क्रममा तार सर्ट भई करेन्ट लाग्दा उनको घटनास्थलमै ज्यान गएको हो ।
खोलामा मृत अवस्थामा उनकी श्रीमती फुलकुमारी ताजपुरियाले देखेर प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरी टोली खटिएर थप अनुसन्धान तथा कानुनी प्रकृया भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



