झापा, मंसिर ६ । एसियन हाइवेको काँकडभिट्टा– लौकही सडकको पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्यलाई तीब्रता दिइएको छ ।

अहिलेसम्म एकतर्फी करिव २.५ किलोमिटर सडक कालोपत्रे भएको छ । अर्को सातादेखि धरमपुर , इटाभट्टा , केर्खा र कन्काईमा गरी चार ठाउँमा सडकको दुईतर्फ नै कालोपत्रे शुरु गरिने काँकडभिट्टा– लौकही सडक आयोजना पूर्वी खण्डले जनाएको छ ।

काँकडभिट्टादेखि केर्खा सितापुरीसम्मको ४५ किलोमिटर सडक एभ्रास्कोन– कालिका जे.भी.ले १० अर्ब ६ करोड रुपैयाँमा ठेक्का लिएका छन् । अहिले यातायात आवतजावतलाई असर नगर्ने गरी कालोपत्रे गरिरहेको जनाउँदै आयोजनाले अर्को सातादेखि त्यसले तीब्रता पाउने बताएको छ । निर्माण कम्पनीले तीन वर्षको म्याद पाएको छ । उनीहरुले २०८० माघ १९ गतेदेखि काम शुरु गरेका थिए ।

पहिलो प्याकेजअन्तर्गत सडकको ठेक्का लगाइएको हो भने चौथो प्याकेजअन्तर्गत ३०० मिटरभन्दा लामा तीनवटा पुलहरु निन्दा , बिरिङ र कन्काईको ठेक्का लगाइएको छ । ५ अर्ब ९७ करोड रुपैयाँमा कोभेक–क्रेजसी–टुन्डी जेभीले ती तीनवटा पुलको ठेक्का पाएका हुन् । दुवै ठेक्काको संझौता मिति २०८० कात्तिक २ गते र निर्माण सम्पन्न गर्नुपर्ने मिति कार्य प्रारम्भ मितिबाट ३ वर्षभित्र रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्